महामारी र विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरु तथा नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया सम्पन्न

कैलाली । २०७८ पुस ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजनामा महामारी विपद्मा राष्ट्रिय मानव अधिकार संस्थाहरु तथा  नागरिक समाजको भुमिका र चुनौती विषयक अन्तरक्रिया पुस ८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक केन्द्रीय कार्यालय मानव अधिकार वहस तथा पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगको भुमिकासम्बन्धमा प्रस्तुती गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख मोहनदेव जोशीले मानव अधिकार प्रर्वद्धन र संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग विपद्को समयमा पनि पीडितको पक्षमा काम गर्न आएको र पीडितलाई क्षतिपुर्तिको लागि राज्यलाई सिफारिस गर्दै आइरहेको बताउनु भयो । उहाँले मानव अधिकारमैत्री कानुन निर्माण तथा त्यसको कार्यान्वयनको अवस्थाको अनुगमन गरी सरकारलाई सुझाव दिदै आएको बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले महामारी र विपद्को समयमा पीडित भएकाहरुको न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय र सहकार्य गरेर राज्यलाई दवाव दिन आवश्यक रहेको बताउनु भयो । जिल्ला अदालत बारका अध्यक्ष सिद्धराज ओझाले विपद् परेको बेलामा राज्य र नागरिक समाजबीच सहकार्य र समन्वय हुन नसक्दा पहुँचको आधारमा राहत वितरण गरिने गरिएकोले एकद्वार प्रणालीमा राहत वितरण गर्नु पर्ने बताउनु भयो । रेडक्रस सोसाइटीका माहामन्त्री लोकराज भट्टले राज्यले महामारी तथा विपद्को पुर्वतयारीमा ध्यान नदिएको कारण महामारी र  विपद्का समयमा नागरिकहरुले थप पिडा भोग्नु परेको बताउनु भयो ।

गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष देवी खनालले महामारी विपद्मा राज्यले पीडित नागरिकलाई राहतको घोषणा गरेर पनि हालसम्म उपलब्ध नगराउँदा पीडित जनताको न्यायका लागि नागरिक समाज एकजुट  भई राज्यलाई दवाव दिन आवश्यक रहेको बताउनु भयो । एड्जस नेपालकी अध्यक्ष चित्रा पनेरुले सरकारसँग नैतिकता नभएका कारण मानव अधिकार तथा नागरिकका आधारभूत आवश्यकता तथा सुरक्षा हुन नसकेको बताउनु भयो । फ्यान नेपालका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुण्द रानाले बिकासको नाममा विनाश र राजनीतिक अराजकताका कारण विपद् आउने गरेको र  जनताले दुख भोग्नु परेको बताउनु भयो । पत्रकार महासंघ, कैलालीका सचिव प्रेम चौधरीले बेमौसमी वर्षका कारण पीडित भएका किसानहरुको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको अवस्थामा नागरिक समाजले समय मै अनुगमन गरी राज्यलाई दबाव दिनु पर्ने बताउनु भयो ।

 

 

मैनामोती चौधरी