महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनमाथि छलफल सम्पन्न
कैलाली । २०७८ पुस ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा महामारी र विपद्ले नागरिक समाजमा पारेको असर सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनमाथि छलफल पुस ७ गते धनगढीमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कोभिड–१९ महामारीमा अग्रपङ्क्तिमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुमा मीडियाकर्मी, स्वास्थ्यकर्मी र नागरिक संघसंस्थाहरुले बढी जोखिम मोलेर काम गर्नु परेको भएपनि राज्यले समन्वय र सहकार्य गर्न नसकेकोले आगामी दिनमा रणनीतिक योजना बनाएर राज्यलाई दवाव दिनु पर्ने बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालय मानव अधिकार वहस तथा पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले महामारी र विपद्मा नागरिक समाजमा पारेको असर सम्बन्धमा इन्सेकले गरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
उहाँले महामारी र विपद्को समयमा भेला हुने र सङ्गठित हुने स्वातन्त्रता, अभिव्याक्तिको स्वातन्त्रता र सूचनाको अधिकारबाट नागरिकहरु वञ्चित हनु परेको बताउनु भयो । फाया नेपालका निर्देशक शेरबहादुर बस्नेतले कोभिड–१९ महामारीको बेलामा राहत विरतणका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिन झन्झटिलो र लामो प्रक्रिया अपनाउनु पर्ने भएकाले मानव अधिकारको क्षेत्रमा काम गर्ने नागरिक संस्थाहरुले राज्यसँग समन्वय नगरी जोखिममा काम गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । फ्यान नेपालका सुदूरपश्चिम प्रदेश प्रमुख मुकुन्द रानाले कोभिड–१९ महामारीमा राहत वितरणका लागि राज्यसँग वास्तविक पीडित, गरिब, विपन्न र लक्षित परिवारको तथ्याङ्क नभएकाले दामाशाही तथा पहुँचको आधारमा राहत वितरण गर्दा पाउनु पर्ने लक्षित वर्ग राहतबाट वञ्चित भएको बताउनु भयो ।
इन्सेक प्रलेख अधिकृत कृष्णवहादुर विश्वकर्माले महामारीको समयमा पनि जघन्य अपराधमा पीडित भएकाहरुको न्यायका लागि निवेदन लिने र न्याय सम्पादन गर्ने कार्यहरु भर्चुओल माध्यमबाट गर्ने व्यवस्था मिलाउन नागरिक तहबाट दवाफ दिन आवश्यक भएको बताउनु भयो । एनएनडिएसडब्लुओका अध्यक्ष चक्र विकले कोभिड–१९ महामारीका क्रममा जारी गरिएको निषेध आदेशमा हिंसामा परेका महिला तथा अपाङ्गता भएका व्यक्तिहरुले उजुरी दिन नपाउँदा न्याय पाउनबाट वञ्चित हुनुको साथै घरमै हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो । याक नेपलका कार्यक्रम संयोजक सरजुप्रसाद चौधरीले कोभिड–१९ महामारीमा राज्य र बजार बलियो भएको अवस्थामा यसलाई नियन्त्रण गर्न नागरिक समाज सङ्गठित भई राज्यलाई जवाफदेही बनाउनु पर्ने बताउनु भयो ।
दलित महिला संघ (फेडो) की अध्यक्ष सविना सुनारले कोभिड–१९ महामारीमा भारतबाट फर्केका नेपालीहरुलाई क्वारेण्टाइनमा राख्दा दलित, महिला तथा बालबालिका बढी प्रभावित भएको र खाने, सुत्ने तथा बस्ने ठाउँमा दलित समुदायका व्यक्तिहरुले जातीय विभेद सहनु परेको बताउनु भयो ।
मैनामोती चौधरी