महिलाको अधिकार स्थापित गराउन पुरुषलाई तालिम
नुवाकोट । २०७८ मङ्सिर २८ गते
महिलाको अधिकार र महिलामाथि हुने हिंसाको घटनाहरुलाई न्युूनिकरण गराउने उद्देश्यसहित शिवपुरी गाउँपालिकाका युवा तथा पुरुषहरुको लागि ‘मानव अधिकार र महिला अधिकार’ विषयक तालिम दिइएको छ । इन्सेकले सञ्चालन गरेको ‘आर्थिक तथा सामाजिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम’ (रिन्यु परियोजना) अन्तर्गत शिवपुरी गाउँपालिका वडा नं. ७ र ८ का युवा तथा पुरुषहरूलाई मङ्सिर २८ गतेबाट दुई दिने तालिम सञ्चालन भएको हो ।
कार्यक्रमका संयोजक कृष्णप्रसाद नेपालले महिलामाथि हुने हिंसालाई कम गराउन पुरुषको बराबर दायित्व हुने भएकोले पुरुषहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा संयोजक नेपालले मानव अधिकारको अवधारणागत विषय, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, नेपालको संविधान २०७२ मा समावेश भएका मौलिक हक सम्बन्धी अधिकारको बारेमा जानकारी दिनु भएको थियो ।
विशेष गरी महिला हिंसा न्यूनिकरणका लागि पुरुषको भूमिका र खाद्य अधिकार, स्वास्थ्यसम्बन्धी अधिकार, शिक्षा सम्बन्धी अधिकार, आवास तथा रोजगारीको हकमा केन्द्रीत रहेर तालिम सञ्चालन गरिएको छ । यसैगरी कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले मानव अधिकार र नेपालमा मानव अधिकारको विकासक्रम, संविधान र कानुनमा महिलाको अधिकार, लैङ्गिक हिंसा लगायतको विषयमा सहभागीहरुलाई अवगत गराउनु भएको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा