महिलाविरुद्ध हुने हिंसा न्यूनिकरणका लागि तालिम सम्पन्न

मकवानपुर । २०७८ असोज ९ गते

महिलाविरुद्ध हुने हिंसा न्यूनिकरण गर्ने र महिला अधिकार सुनिश्चित गराउने उद्देश्यसहित मनहरी गाउँपालिकाका युवा तथा पुरुषलाई मानव अधिकार तथा महिला अधिकारसम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण परियोजना अन्तर्गत मनहरी गाँउपालिकाका युवा तथा पुरुषहरूलाई ०७८ असोज ७ र ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र डब्लूपिडीको पर्यवेक्षणमा “मानव अधिकार तथा महिला अधिकार” तालिम दिइएको हो । तालिममा कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै इन्सेककी व्यवस्थापन प्रमुख शुभेक्षा खड्काले महिला हिंसा न्यूनिकरणको लागि पुरुषको पनि समान दायित्व हुने भएकोले युवा तथा पुरुषलाई तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले पुरुषले दैनानिदिन गर्ने व्यवहार हिंसा हो होइन, के गर्दा हिंसा हुन्छ, के गर्दा हुँदैन भन्ने ज्ञान नहुँदा पनि घरेलु हिंसाले निरन्तरता पाइरहने हुनाले त्यस्ता घटनाको न्यूनिकरणका लागि तालिममा पुरुष सहभागीता गराइएको बताउनु भयो ।

कार्यक्रममा इन्सेकका मानव अधिकार शिक्षा विभागका प्रमुख मदन पौडेलले मानव अधिकारको ऐतिहासिक अवधारणाग प्रस्तुति गर्नुभएको थियो । साथै पौडेले नेपालमा मानव अधिकारको कार्यान्वयनको अवस्था ऐन नियम र महिलाको अधिकारको संरक्षणको लागि गरिएको व्यवस्था बारे अवगत गराउनु भएको थियो । कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले नेपालको संबिधान र मौलिक हक तथा मानव अधिकारको विकास क्रमबारे तालिममा प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले नेपालको संविधन २०७२ ले नागरिकका लागि प्रत्याभूति गरेको भाग ३ को धारा १६ देखि ४७ सम्मको मौलिक हकमा भएको व्यवस्था र धारा ४८ मा भएको नागरिकको कतव्र्य बारे सहजिकरण गर्नुभएको थियो ।

यस्तै इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारबारे सहभागीहरूलाई जानकारी दिनुभयो । उहाँले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सरकारले जनतालाई सुनिश्चितता गरेको उल्लेख गर्नु भएको थियो । निशुल्क तथा गुणस्तरीय शिक्षा, बालबालिका मैत्री विद्यालय, छात्रावृति, दिवा खाजा कार्यक्रमको व्यवस्था सरकाले गरेको भण्डारीले जानकारी गराउनु भएको थियो ।

यसैगरी जनताको आधारभूत स्वास्थ्य उपचारको व्यवस्था, स्थानीय स्वास्थ्य चौकीमा निशुल्क औषधिको व्यवस्था, कोभिड–१९ सङ्क्रमण विरुद्ध निशुल्क उपचार, दीर्घ रोगको लागि आर्थिक सहयोग, स्वास्थ्य बिमा कार्यक्रम र जेष्ठ नागरिकलाई निशुल्क उपचारको व्यवस्था बारे जानकारी दिइएको थियो । साथै खाद्य अधिकार सुनिश्तिताका लागि कृषि र पशुपालनको क्षेत्रमा सरकाले ल्याएको अनुदान कार्यक्रम र सामाजिक सुरक्षा भक्ताको व्यवस्था तथा विपन्न, एकल र पिछडिएका वर्गका लागि सुरक्षित आवास र फुसको छानो रहितको घर कार्यक्रम पनि यही मौलिक हकको कार्यान्वयनको चरण रहेको पनि उल्लेख गरिएको थियो ।

अधिवक्ता अप्सरा बस्नेतले घरेलु हिंसा र कानुनी प्रावधानका बारेमा उल्लेख गर्नु भएको थियो । महिलामा माथि हुने हिंसाका प्रकार, हिंसाबाट हुने शारीरिक र मानसिक असर तथा हिंसा पीडित महिला लागि भएको कानुनी व्यवस्था बारे जानकारी गराउनुभएको थियो । तालिममा मनहरी गाउँपालिकाका ३५ जना युवा तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

पुष्पराज अधिकारी