महिला कैदीबन्दीको लागि थुनुवा घरको विषयमा ध्यानाकर्षण

जाजरकोट । २०७८ पुस ३० गते

मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले पुस २८ गते जाजरकोट कारागारमा महिला कैदीबन्दीको लागि थुनुवा घरको व्यवस्थापन गर्न भन्दै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार रक्षक सञ्जालले केही समय अघि जाजरकोट जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत र कारागारमाको अनुगमनका क्रममा महिला थुनुवा घर नयाँ भवन बनाउने क्रममा भत्काइएपछि पुनः नबनाएकोले तत्काल निर्माण गर्न प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘जिल्लामा महिला बन्दी राख्ने सुविधा नभएर अरू जिल्लामा पठाउनु पर्ने अवस्थामा महिला बन्दीलाई सामाजिक तथा मानसिक पीडाबोध हुने अनुमान गर्न सक्दछौं’ पत्रमा भनिएको छ ‘दीर्घकालिन रूपमा नयाँ संरचना निर्माण गर्ने र अल्पकालिन रूपमा विद्यमान महिला कारागार नजिकका संरचनामा वा प्रचलित कानुनलाईसमेत दृष्टिगत गरी महिला बन्दीलाई जाजरकोट कारागारमै रहने व्यवस्थाका लागि ध्यानाकर्षण गराउँदछौं ।’ मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका सह संयोजक बिजया नगरकोटीको नेतृत्वमा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष केदारबहादुर शाह, नागरिक समाजका अध्यक्ष केशबजङ्ग शाह, पत्रकार महासंघका अध्यक्ष बालकुमार शर्मा, गैसस महासंघका सचिब सहदेब बस्नेत, इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ लगायत जिल्लामा कृयाशिल अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

दिनेशकुमार श्रेष्ठ