महिला हिंसाका घटना बढेकोमा अधिकारकर्मीहरूद्वारा चिन्तित
चितवन । २०७८ असार ३१ गते
जिल्लामा पछिल्लो महिला हिंसाका घटना बढ्दो क्रममा भएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २०२१ को पहिलो अर्धवार्षिक समयावधिमा मात्र सविता भण्डारी र सुजिता भण्डारी मृत्यु प्रकरण, विना सापकोटा बेपत्ता भएको घटनाले चिन्तित बनाएको सहभागीहरूको भनाई थियो । इन्सेक चितवनले असार ३१ गते आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै सहभागीहरूले जनताको मानव अधिकारको रक्षाका लागि सरकारलाई सुरक्षा व्यवस्था कडा पार्न ध्यानाकर्षण समेत गराएका छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सभ्य शिक्षित भनिएको ठाउँमा नै गम्भीर प्रकारका घटनाहरू एक पछि अर्को हुनु दुखद विषय भएको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीले मानव अधिकारका विषयमा समाचार लेख्दा पत्रकारहरूले आवश्यक ध्यान पुर्याउन नसकेको बताउनु भयो ।
नेपाल बार एशोसिएसन चितवनका पूर्व अध्यक्ष अधिवक्ता जगन्नाथ भण्डारीले राज्यले देख्ने अपराध र मानवअ धिकारको विषय फरक रहेको उल्लेख गर्नु भयो । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सहसंयोजक संगिता भट्टराईले महिलाहरू कुनै न कुनै रूपमा घरभित्र र बाहिर असुरक्षित रहेको भन्दै राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा २०२१ जनवरीदेखि जुन महिनासम्म भएका ४२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबारे जानकारी गराइएको थियो । चितवन प्रतिनिधिका अनुसार जिल्लामा ४२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख भएको छ । जसमध्ये महिला बलात्कारका ६ ओटा, बलात्कार प्रयासका दुई, बालिका बलात्कार १३, बालिका बलात्कार प्रयास तीन, बाल यौन दुरुपयोग घटना, बालिका बेचविखनका एक, बहुविवाह तीन, बालविवाह एक, आत्महत्या दुरुत्साहन एक, बालिका अपरहण एक र हत्याको एउटा घटना अभिलेख गरिएको छ ।
दिपेन्द्र अधिकारी