महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
मकवानपुर । २०७९ माघ ६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा महिला हिंसा सम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ मा माघ ३ गते र हेटौँडा उपमहानगरपालिका-१९ मा माघ ६ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह सदस्य तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसा भनेको के हो ? घरेलु हिंसाका प्रकारहरू, यसका कानुनी प्रवाधानहरू र कुनै पनि महिला माथि हिंसा भएमा त्यसको उजुरी प्रकृया र सरोवारवाला निकायहरूसँग कसरी समन्वय गर्ने भन्ने विषयमा कार्यक्रम अधिकृत कृष्ण प्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रका सहभागीले अझै पनि समूदायमा महिलाहरूले घरेलु हिंसा पीडित बन्नु परेको र कतिपय अवस्थामा मानसिक तनाव, शारीरिक रुपमा शरीरमा क्षतिहुने गरी हुने कुटपिट गरिएका घटना भए पनि हिंसा बारे सही पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए । यसैगरी सहभागीहरूले महिला हिंसा तथा अन्य बालबालिका अपाङ्गता भएका व्यक्तिहरूको सवालमा स्थानिय सरकार नागरिक समाज सरोकारवाला निकायहरुले आगामी दिनमा नीति तथा योजनामा महिला सहभागितालाई बढाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यस कार्यक्रमले घरेलु हिंसाको सवालहरुमा आगामी दिनमा कहाँको सरी उजुरी गर्ने र सिफारिस प्रक्रिया बारेमा जानकारी भएको र यसका कानुनी उपचार बारे जानकारी प्राप्त भएको हुँदा समाजमा हुने घरेलु हिंसा पीडित महिलाहरूलाई आफूहरूले न्याय दिन पहल गर्ने बताउनु भएको थियो । यसका साथै समाजमा हुने जातीय विभेद, आर्थिक तथा सामाजिक रूपमा हुँदा खाने र हुनेखानेका बीचमा रहेको अन्तरका कारण हुने विभेदका कारण दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका महिलाहरूको विकास तथा अन्य स्थानीय तहबाट उपलब्ध गराईने सेवा सुविधाहरूमा अर्थपूर्ण सहभागिताको लागि पनि कार्यक्रममा सहजिकरण गरिएको थियो । यसै गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएको न्यायिक समितिमा गरिने उजुरी प्रकृया तथा यस समितिले प्रदान गर्ने महिला हिंसा न्यूनिकरण सम्बन्धी कानुनी सहयोग र प्रावाधान बारे पनि कार्यक्रमा छलफल भएको थियो । मनहरी वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ ।
बागमती प्रदेश कार्यलय, हेटौँडा