महिला हिंसा रोक्नको लागि अन्तरक्रिया कार्यक्रम

नुवाकोट । २०७९ कात्तिक २४ गते

महिलामाथि हुने हिंसाको सम्बन्धमा शिवपुरी गाउँपालिकाको स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न भएको छ । इन्सेकको आयोजनामा शिवपुरी गाउँपालिका वडा नं. ८ थानापतिमा कात्तिक २२ गते र वडा नं. ७ सुनखानीमा कात्तिक २३ गते अन्तरक्रिया सञ्चालन गरिएको हो । शिवपुरी–७ र ८ मा ‘अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भईरहेको छ । कार्यक्रममा सहभागी महिलाहरूले स्थानीय सरकारले आफ्ना  अधिकारहरूलाई सुनिश्चित गरिदिन आग्रह गरेका थिए । स्वास्थ्य संस्थाको सेवा प्रवाह, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता वितरणको सम्बन्धमा, महिलामाथि हुने हिंसाको न्युनीकरण र पीडितको सरंक्षणको कार्यक्रम लगायत विषयमा सहभागीहरूले प्रश्न गरेका थिए । सहभागीहरूको प्रश्नको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले महिलाहरूको क्षमता वृद्दि, सीप सिकाउने, आत्मनिर्भरको साथै अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले महिलाहरू हिंसाबाट पीडित भएको गुनासो र समस्याहरू पनि बेला बेला आउने गरेको महिलालाई हिंसा गर्न हुँदैन, हिंसा विरुद्दको अभियान सञ्चालन गर्न योजनाहरू पनि रहेको बताउनुभयो ।

   

अध्यक्ष थपलियाले सिमित स्रोतसाधनबीच काम गर्नु परेकोले सबैको आवश्यकता पुरा गर्न नसकिएको उल्लेख गर्नुहुँदै गाउँपालिका र नागरिकबीच सहकार्य हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा उठेका प्रश्नहरूको शिवपुरी गाउँपालिकाका वडा नं. ८ का वडाअध्यक्ष केशवप्रसाद रिजाल, वडा नं. ७ का वडाअध्यक्ष वीरबहादुर तामाङ, स्वास्थ्य शाखा प्रमुख उद्दव कार्की, महिला तथा बालबालिका शाखा प्रमुख पूजा खतिवडा, कार्यपालिका सदस्य रीता नेपाली, वडा नं. ८ का वडासदस्य रामबहादुर पाठक लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले स्थानीय तहभित्रको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेको लागि महिलालाई काठमाडौंमा लैजानको गाउँपालिकाले निशुल्क रुपमा एम्बुलेन्स सेवा दिइरहेको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको एम्बुलेन्स अन्यत्र गएको बेला परेको रहेछ भने आफैले अर्को सवारीसाधनमा अस्पताल लगे पनि लागेको भाडा पालिकाले नै दिने बताउनुभयो । कार्यक्रममा कार्यक्रम संयोजक कृष्ण नेपालले अन्तरक्रिया कार्यक्रमको महत्व र उद्देश्यको बारेमा जानकारी दिनुभएको थियो ।

नवदीप श्रेष्ठ