मानवअधिकार वर्ष पुस्तक २०२३ प्रशासन पूर्व धनुषामा समिक्षा कार्यक्रम सम्पन्न
धनुषा । २०७९ पुस १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाले जिल्लामा २०२२ मा मानवअधिकार उल्लघंनका ५८ ओटा घटना दर्ता गरेको जनाएको छ । नेपाल पत्रकार महासंघमा आयोजना गरिएको मानवअधिकारको अवस्था तथा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समिक्षा कार्यक्रममा इन्सेक धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहले जिल्लामा मानवअधिकार उल्लघंनका १६ प्रकृतिका ५८ ओटा घटना अभिलेखीकरण गरेको बताउनुभयो । २०२२ मा धनुषामा बलात्कारका १० ओटा घटना, बलात्कार प्रयासका २ ओटा, यौन दुर्व्यवहारका ४ ओटा, मानव बेचविखन तथा ओसारपसारका ४ ओटा, अमानवीय व्यवहार एवम् मोसोका ३ ओटा घटना अभिलेख गरिएको इन्सेक धनुषाका प्रतिनिधिले जनाएको छ । धनुषामा १३ ओटा हत्या घटना भएको छ, जसमा ८ जना महिला र ६ जना पुरुषको हत्या भएको जनाएको छ । धनुषामा १३ हत्याको घटनामध्ये ७ ओटा परिवारकै व्यक्तिबाट हत्या भएकोमा ६ जना महिलालाई परिवारकै सदस्यबाट हत्या गरिएको जनाएको छ । कार्यक्रमा इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले जिल्ला, प्रदेश र समग्रमा देशभरमा सन् २०२२ मा के कस्ता मानवअधिकार उल्लघंन र ज्यादतीका घटनाहरु सोको जानकारीसहित शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारलगायत सामाजिक र सांस्कृतिक अधिकारको सवालमा इन्सेक अग्रसर रहेको बताउनुभयो । उहाँले जिल्लागत रुपमा गत वर्षको तुलनामा धनुषामा महिला बालबालिकामाथि हुने घटनामा बृद्धि भएको बताउनुभयो । उहाँले जिल्लामा पारिवारिक व्यक्तिहरुबाटै हत्याका घटनाहरु बृद्धि भएकाले यसतर्फ हाम्रो ध्यानाकर्षण भएको समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष मनिका झाले इन्सेकले मानवअधिकार उल्लघंनका घटनाहरु सङ्कलन गरेर तथ्याङ्क सार्वजानिक गरिनु धन्यवादको पात्र भएको बताउँदै जिल्लामा प्रहरी र इन्सेकले प्रस्तुत गर्ने घटना गरेको तथ्यांक फरक भएको बताउनुभयो । उहाँले जिल्लामा बलात्कारका घटना र महिला बालिकामाथि हुने हिंसाका घटनाहरु बढी भएकाले यसको न्युनिकरणका लागि प्रहरी, मानवअधिकारकर्मी र सञ्चारकर्मीहरुलगायत सरोकारवालाहरुको भूमिका हुनुपर्नेमा जोड दिनुभयो । घटनाका पीडितहरुलाई न्यायमा पहुँच बढाउनका लागि प्रहरी प्रशासनले सहज तरिकाले घटना दर्तादेखि लिएर अनुसन्धान गर्न कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो । एड्भोकेसी फोरम नेपालका प्रदेश संयोजक अधिवक्ता राजकुमार महासेठले हाम्रो जिल्ला र समाजमा भई रहेका मानवअधिकार उल्लघंनका घटनाहरुलाई संकलन गरि सार्वजानिक गरिनु र किताबको स्वरुपमा छापिनु सुखद पक्ष भएकाले इन्सेक प्रंशसाको पात्र भएको बताउनुभयो । उहाँले सिमित श्रोत र जनशक्तिका वावजुद पनि इन्सेक धनुषाले जिल्लामा मानवअधिकार उल्लघंनका घटनाहरु अभिलेखिकरण गरि सार्वजानिक गर्दा हाम्रो समाजमा के कस्ता प्रकारका घटनाहरु भई रहेको बारेमा समष्टिगत रुपमा जिल्लाको मानवअधिकारको अवस्थाको सिनारियो देखाएको बताउनुभयो । उहाँले इन्सेकको दायरा र पीडितलाई न्यायमा पहुँच बढाउने गरि थप जनशत्ति र मेहनतको साथ अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग मधेश प्रदेशका अधिकृत रेखा दत्तले इन्सेकले वर्षेनी जिल्लागत, प्रदेश र समग्रमा देशको मानवअधिकार उल्लघंनका घटनाहरु संकलन गरि किताव छाप्नु र घटना सार्वजानिक गरिनु ठुलो कार्य गरेको बताउनुभयो । उहाँले इन्सेकको डाटालाई आयोगले समेत श्रोत सामाग्रीको रुपमा लिने गरेको बताउनुभयो । उहाँले हामी इन्सेकसंग समेत सहकार्य गरेर घटनाहरुको अध्ययन र अनुसन्धान गरि राज्यपक्षलाई मानवअधिकार उल्लघंनका घटनामा सचेत गराउने र राज्यलाई घटना न्युनिकरणका लागि आवश्यक पहल गर्न सल्लाह सुझाव र सिफारिश गर्ने गरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिपबहादुर क्षेत्रीले इन्सेक र जिल्ला प्रहरी कार्यालय धनुषाको डाटामा फरकपना भएपनि महिला र बालवालिकाहरुको घटना जिल्लामा बढि रहेको यथार्थ भएको बताउनुभयो । उहाँले समग्रमा घटना न्युनिकरण र पीडितलाई न्यायमा पहुँच बढाउन प्रहरी, मानवअधिकारकर्मी र संचारकर्मीहरुको संयुक्त पहल र खवरदारी भई रहनुपर्ने बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहले मानवअधिकार उल्लघनका घटनाहरुलाई सङ्कलन गरिनु र तथ्याङ्क सार्वजानिक गरिनु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले जिल्ला उद्योगी व्यवसायीहरुमा समेत विभिन्न प्रकारका घटनाहरु भई रहेकाले यस वर्ष पुस्तकले सो घटनाहरु समेत अभिलेखिकरण गरेको हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतले यो मानवअधिकार वर्ष पुस्तक ३१ औं संस्करणको रुपमा निजी क्षेत्रबाट प्रकाशन गर्ने पहिलो संस्था इन्सेक भएकोमा प्रशंसा गर्नुभयो । इन्सेकले मानवअधिकार उल्लघंनका घटना प्रहरीमा कति दर्ता भए, अदालतमा कति दर्ता भए र हालको अवस्था के छ भनी समेत सपष्ट रुपमा छाप्नुपर्ने बताउनुभयो । एनपिआई नेपालका प्रदेश संयोजक विनोद महराले मानवअधिकार वर्ष पुस्तक ३१ औं संस्करणको रुपमा छापिनु ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँले मानवअधिकारको क्षेत्रमा ऐनाको रुपमा वर्ष पुस्तक रहको बताउनुभयो । उहाँले मानवअधिकार उल्लघंनका घटना न्युनिकरणका लागि सरोकारवाला पक्षहरुको भूमिका आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सञ्चारकर्मी, मानवअधिकार र प्रहरी प्रशासन तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले गर्नुभयो ।
दिपेन्द्र प्रसाद सिंह