मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि अर्धवार्षिक समीक्षा सम्पन्न
गोरखा । २०८१ असार ११ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्दै आएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का लागि संकलित घटनाहरुको अर्ध–वार्षिक समीक्षा कार्यक्रम असार १० गते सम्पन्न भएको छ ।
सन् २०२४ को जनवरी देखि जुन सम्ममा बालअधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहारका १३ ओटा, महिला अधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहारका पाँच ओटा, आत्महत्या दुरुत्साहन घटनाको एक ओटा, महिला हिंसाको तीन ओटा, हत्या प्रयासको एक ओटा, दुर्व्यवहारको एक ओटा गरी २४ ओटा घटना अभिलेख गरिएको जिल्ला प्रतिनिधि हरिराम उप्रेतीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले यो वर्ष बलात्कार र यौन दुर्व्यवहारका घटना बढेको भन्दै चिन्ता जनाएका थिए । अभिलेख गरिएका घटनाको भाषिक शुद्धतामा ध्यान दिन पनि कार्यक्रमका सहभागीले सुझाव दिए ।
‘डाटाको हिसाबले भन्दा बलात्कारका घटना बढेको देखिन्छ,’ जिल्लाप्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो,‘ पछिल्लो समय सचेतनामुलक कार्यक्रमले पनि प्रहरीमा उजुरी गर्न आउनेहरु बढेका हुन् ।’ विशेष गरि गोरखा र पालुङटार नगर क्षेत्रबाट हिंसामा परेको भन्दै बढी मात्रामा उजुरी दर्ता हुने गरेको पनि उहाँले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा अझै कानुनी सचेतना जगाउनु पर्नेमा अधिकारकर्मी सावीत्री भट्टले जोड दिनुभयो । ‘महिला हिंसा न्यूनीकरण संजाल’ लाई सक्रिय बनाउनुपर्ने उहाँले बताउनुभयो ।
सम्बन्ध विच्छेद, आत्महत्या र बलात्कारका घटना पछिल्लो समय बढ्दो क्रममा रहेको गोरखा नगरपालिका–४ का अध्यक्ष लालप्रसाद भट्टराइले बताउनुभयो । उमेर नपुगी विवाह गर्ने, बच्चा जन्माउने परिपाटी कायमै रहेको पनि उहाँले उल्लेख गनुभयो । ‘हाम्रै वडामा एक वर्षको अवधिमा २० ओटा सम्बन्ध विच्छेद भए’ उहाँले बताउनुभयो । अहिले पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न मिल्ने प्रावधान आएपछि संख्या पनि बढेको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
हिंसाका घटना न्यूनीकरणका लागि विद्यालय स्तरबाटै सचेतनामुलक कार्यक्रममा जोड गर्नुपर्ने पत्रकार महासंघ गोरखा शाखाका सचिव विकास मरहट्टाले बताउनुभयो । लागुपदार्थ र मदिराजन्य पदार्थको सेवनले पनि हिंसाको घटना बढाएको कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
हरिराम उप्रेती