मानवअधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न
म्याग्दी । २०७९ पुस १ गते
मानवअधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस १ गते म्याग्दीमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले आयोजना गरेको वर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ मा अभिलेख गरेका २९ वटा घटनाकहरू बारेमा जानकारी गराउनु भएको थियो । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मानवअधिकारको प्रत्याभुतिका लागि नागरिक स्वयं सचेत हुनै पर्छ र मानवअधिकार भनेको आम जनता सँग जोडिएको कुरा भएकाले नागरिकले चेतनाको विकास गरेर अधिकार अनि कर्तव्यका बारेमा जानकारी हुनु पर्ने बताउनुभयो । पछिल्लो समय निर्माण क्षेत्रका मजदुरहरूले पारिश्रमिक नपाउने समस्या बढ्न थालेको गुनासो आउन थालेको तर्फ सबै सचेत हुन पर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । उहाँले निर्माण मजदुरले समयमै पारिश्रमिक नपाउँदा उसको घर परिवारमा असर पर्ने भएकाले त्यसले गर्दा मानिसको बाँच्न तथा खान पाउने अधिकार हनन हुने बताउनुभएको छ । इलाका प्रहरी कार्यालय दरवाङका असइ रमेश कार्कीले नागरिकको अधिकारको संरक्षणका लागि राज्यले निर्धारण गरेको जिम्मेवारी निर्वाह गर्न प्रहरी तत्पर रहेको बताउनुभयो । उहाँले प्रहरीमा आएको जानकारी तथा नागरिकको सुरक्षा र कानुन कार्यान्वयनको पाटोमा कटिबद्ध रहेको बताउनुभयो ।
मालिका गाउँपालिका–१ का अध्यक्ष टंकप्रसाद पुनले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या हुने खालका अभिव्यक्ति सार्वजनिक हुँदा महिलाको परिवार धरापमा पर्ने बताउनुभयो । म्याग्दी उद्योग बाणिज्य संघ दरवाङका सचिव अमृत सापकोटाले बालबिवाहको समस्या ग्रामिण भेगमा हुन सक्ने तर्फ सचेत रहन आग्रह गर्नु भएको थियो । सापकोटाले बालबिवाह भएको भए पनि समाजमै लुकाएर राख्ने गरेको हुन सक्ने बताउनुभयो । जनप्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नगेन्द्रबहादुर खत्रीले विद्यालय स्तरमै बालबिवाह र यसका कानुनी व्यवस्थाका बारेमा सचेत गराएको खण्डमा समस्या समाधान तर्फ समाज जान सक्ने बताउनुभयो । उहाँले बालबिवाह ग्रामिण भेगमा हुन सक्छ तर विद्यालय स्तरमै विद्यार्थीहरुलाई बालबिवााह कानुनी रुपमा अबैध भन्ने जानकारी गराएको खण्डमा रोकिन सक्ने बताउनुभयो ।
अमृतप्रसाद पौडेल