
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
तनहुँ । २०७७ फागुन २० गते
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई ज्ञापनपत्र बुझाई मानवअधिकार समूहले पहिचान गरेका समस्याहरू समाधान गर्न माग गरेको हो । इन्सेकको सहयोगमा भानु नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी नागरिकलाई सचेतना जगाउने कार्यक्रम सञ्चालन भइरहेको भन्दै उक्त कार्यक्रमको सन्दर्भमा गठन गरिएको मानवअधिकार समूहले नगरपालिका भित्र रहेका समग्र मानवअधिकारको विषय र त्यसमध्ये महत्वपूर्ण मानिएको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई सम्बोधनकोलागि विभिन्न समयमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको भन्दै ज्ञापनपत्रमा नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम तथा योजनाहरू निर्माण गर्दा मानवअधिकारमैत्री बनाउन माग गरिएको छ ।
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नेपालको संविधान २०७२ ले मौलिक हकको रूपमा समेत समाविष्ट गरेको र मानवअधिकार समूहले पटक–पटकको बैठक र विभिन्न अन्तरक्रिया कार्यक्रम एवमं सरोकारवालाहरूसँगको भेटमा पहिचान गरिएका विषय वस्तुहरूलाई आगामी वर्षको नीति, योजना र कार्यक्रममा सम्बोधन गर्ने विश्वास सहित ज्ञापनपत्र बुझाइएको मानवअधिकार समूह भानुका संयोजक कृष्णराज धमनीयाले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आगामी कार्यपालिकाको बैठकबाट पारित गरी समूहको मागलाई सम्बोधन गरी आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रकाशचन्द्र भट्टराई