मानव अधिकारका विषयमा समीक्षा बैठक तथा कार्ययोजना निर्माण
रौतहट । २०७८ कात्तिक २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा चन्द्रपुर नगरस्तरीय मानव अधिकार निगरानी समूह र सरोकारवालाबिच समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ । बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत चन्द्रपुर नगरपालिकामा सञ्चालित शिक्षा, स्वास्थ्य, आवास र खाद्य अधिकारको क्षेत्रमा समस्या र समाधानका लागि पैरवी गर्ने विषयमा छलफल गरिएको हो । मानव अधिकार निगरानी समूहकी सदस्य प्रेमकुमारी तिमल्सिनाले मानव अधिकार निगरानी समितिले बैठक बस्ने क्रममा जुन क्षेत्रमा जे विषयको समस्या छ सोही स्थानमा गएर सञ्चालन गर्दा सो ठाउँको लगभग ७० प्रतिशत समस्या समाधान भएको बताउनुभयो ।
मानव अधिकार निगरानी समूहका सदस्य सरस्वति खुलालले मानव अधिकारका विषयमा इन्सेकका गतिविधिहरू अभियानमुखी भएकोमा खुशी व्यक्त गर्नुभयो । इन्सेक प्रदेश २ का फोकल पर्सन बरुण बस्यालले परियोजनाले सञ्चालन गर्दै आइरहेको काम र यसको प्रभावकारिता र आगामी कार्ययोजना निर्माणमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले कार्यक्रम सञ्चालनको क्रममा आएका समस्यालाई सम्बन्धित निकायबाट समाधान गर्नेर सो हुन नसके स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारसम्म पैरवी गरी वास्तविक पीडितलाई न्याय दिलाउन इन्सेक सधैँ तत्पर रहेको बताउनु भयो ।
कोपिला तिमल्सिना