मानव अधिकारका सवालहरुलाई संवोधन गर्न मानव अधिकार समूहद्वारा नगरपालिकाको ध्यानाकर्षण

कञ्चनपुर । २०८० वैशाख २८ गते

मानव अधिकार समूह, कञ्चनपुरले बेलौरी नगरपालिकामा बैशाख २७ गते ध्यानाकर्षणपत्र बुझाएर नगरपालिका क्षेत्रमा रहेका सवाल तथा समस्याहरुलाई सम्बोधन गर्न अनुरोध गरेको छ । बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुल र निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीलाई २२ बुँदे ध्यानाकर्षण–पत्र बुझाएकोे मानव अधिकार समूहका संयोजक गोबिन्दप्रसाद सापकोटाले बताउनु भयो । मानव अधिकार समूहले बेलौरी नगरपालिकामा मानव अधिकारका सवालहरुमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दा यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसा न्यूनिकरण र वाताबरण अधिकारको क्षेत्रमा विभिन्न सरोकारवालाहरुसँगको समन्वय, अन्तरक्रिया तथा छलफलमार्फत समस्या पहिचान गरेर प्राथमिकरण गरेका सवाल तथा मस्याहरु समाबेस गरीएको मानव अधिकार समूह  बेलौरीका कोषाध्यक्ष बिजया लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

ध्यानाकर्षण–पत्रमा गुणस्तरीय शिक्षा अधिकारको लागी बेलौरी नगरपालिका–५ को बागेश्वरी आधारभूत विद्यालय लगायतका अन्य विद्यालयमा निमाविमा अनिवार्य गणित, विज्ञान र सामाजिक बिषयको शिक्षक नभएको कारण विषयगत शिक्षकहरुको व्यवस्थापन गर्न, विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्न, विद्यालयमा प्रदान गरिने दिवाखाजालाई गुणस्तरीय बनाउन, शिक्षकहरुको पदपुर्ती निश्पक्ष रुपमा गर्न, स्वास्थ्य चौकीहरुमा ओपिडी सेवा तोकीएको समयसम्म प्रदान गर्न, जडान गरीएको इसिजी मेसिन सञ्चालनका लागि दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न, स्वास्थ्य बीमामा आवद्ध व्यक्तिहरुको रिफरल कार्य प्रक्रिया सहज बनाउन, लैङ्गिक हिंसा अन्त्यका लागि योजना तथा कार्यक्रम सञ्चालन गर्ने लगायतका २२ ओटा मागहरु उल्लेख गरिएको छ । बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहका संयोजक गोबिन्दप्रसाद सापकोटाले ध्यानकर्षण–पत्र बुझाउँदै आफूहरुले पहिचान गरेका समस्याहरु समाधान गर्नका लागि बेलौरी नगरपालिकाका प्रवक्तामार्फत नगरप्रमुख पोतीलाल चौधरीलाई आग्रह गरिएको बताउनु भयो ।

उहाँले माग गरिएका सवालहरुको त्रैमासिकरुपमा फलोअप गर्ने बताउदै के कती समस्याहरु समाधान भए, के कती समाधान हुन बाँकी छन र कहिलेसम्म समाधान हुन्छन भनेर त्रैमासिक रुपमा अद्यावधिक गरिने र मानव अधिकार समूहमा अभिलेख राखिने बताउनु भयो । बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले ध्यानाकर्षण–पत्र बुझ्दै पालिकामा रहेका समस्याहरु पहिचान गरेर पालिकाको ध्यानाकर्षण गराएकोमा मानव अधिकार समूहलाई धन्यवाद दिदै समस्या तथा सवालहरु समाधानका लागि यथासिघ्र पहल गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

लिली कुँवर