मानव अधिकारको अवस्थाका बारेमा थारु समुदायका अगुवासँग छलफल

कैलाली । २०८१ जेठ ३ गते

नीति फाउण्डेशन र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा मानव अधिकारको अवस्थाका सन्दर्भमा थारु समुदायका अगुवासँग ०८१ जेठ २ गते अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले देशको शान्ति सुरक्षाको अवस्था र थारु समुदायको मानव अधिकार, सुरक्षा र न्यायमा पहुँचको अवस्थाको बारेमा नीति फाउण्डेशनले अध्ययन गरिरहेको जानकारी गराउनु भयो । नीति फाउण्डेशनका प्रतिनिधि तथा इन्सेकका सदस्य एवम् मानव अधिकारकर्मी शोभाकर बुढाथोकीले शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारको मातहतमा रहने गरी सात ओटै प्रदेशमा प्रदेश प्रहरी मस्यौदा तयार गरेर प्रदेश सरकारलाई बुझाउने काम भएता पनि प्रदेश प्रहरीको कानुन निर्माण भइनसकेको बताउँदै थारु समुदायको सुरक्षाको विषयमा निरन्तर सहयोग गरिरहने बताउनु भयो । नीति फाउण्डेशनका प्रतिनिधि तथा पूर्व एआइजी बमबहादुर भण्डारीले थारु समुदायप्रति गरिने राज्यको विभेदपूर्ण व्यवहारले समाजमा अर्को द्वन्द्व निम्त्याउने अवस्था हुन सक्ने भएकाले राज्यले यी समुदायको माग सम्बोेधन हुने गरीे ऐन कानुन निर्माण गर्न आवश्यक सल्लाह सुझाव दिन सकिने बताउनु भयो । धनगढी उपमहानगरपालिकास्तरीय वडघरभलमन्सा नगर समितिका अध्यक्ष रोहित चौधरीले थारु समुदायमा पुरापूर्वकालदेखि कानुनी प्रथाको रुपमा चलिआएको सामाजिक न्याय प्रणाली बडघरभलमन्सा प्रथालाई थारु समुदाय भएको कारण कानुनी मान्यता नदिएर जातको आधारमा विभेद गरिएको गुनासो गर्नु भयो  ।

   

उहाँले भन्नु भयो— ‘गाउँको विकासका लागि थारु समुदाय बडघरभलमन्साकै अगुवाईमा निःशुल्क रुपमा  विकास निर्माणका कार्य हुँदै आइरहेको भए पनि स्थानीय सरकारले उक्त प्रथालाई कानुनी मान्यता दिन सकेको छैन् । राज्यले नै बडघर प्रथा स्वीकार गरेको छैन् । जसका कारण थारु समुदाय राज्यको स्रोतसाधनबाट वञ्चित हुनुपरेको छ ।’ थारु अगुवा प्रभात चौधरीले टिकापुरमा भएकाे हिंसात्मक घटनापछि प्रहरी प्रशासनले थारु समुदायप्रतिको बुझाई, हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फरक भएकाले थारु समुदायका व्यक्तिहरु न्यायका लािग प्रहरीमा जान डराउने गरेको बताउनु भयो । थारु युवा ठाकुरप्रसाद करियाप्रधानले प्रहरी प्रशासनमा उच्च ओहोदामा थारु समुदायको प्रतिनिधित्व नभएका कारण पहुँचको अभावमा शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको बताउनु भयो । महिला अधिकारकर्मी गीता चौधरीले विभिन्न हिंसामा परेका महिलाहरुको मुद्दा प्रहरीले दर्ता गर्न नमानेका कारण महिलाहरु न्यायका लागि समस्या झेल्नु परेको बताउनु भयो । सामाचारका लागि सूचना संकलन गर्न जाँदा थारु भएकै कारण विभन्न विभेद भोग्नु परेको र थारु भाषाको पत्रिका भएका कारण कार्यालयमा तोडफोड समेत गरिएको पत्रकार महासंघ, कैलालीका सचिव तथा थारु भाषाको दैनिक पत्रिका पहुँराका सम्पादन तथा प्रकाशक प्रेम चौधरीले बताउनु भयो ।

मैनामोती चौधरी