मानव अधिकारको अवस्थाबारे अनुगमन

सल्यान । २०७८ असार २१ गते

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीको नेतृत्वमा अधिकारकर्मी, पत्रकार र कानुन मन्त्रालयका प्रतिनिधि सहितको टोलीले असार २० गते मानव अधिकारको अवस्था अनुगमन गरेको छ । इन्सेको इएलपी परियोजना अन्तरगत गठन भएको शारदा नगरपालिकाको मानव अधिकार समूहको अवस्था अनुगमन, कार्य प्रगतीबारे अनुभव आदान प्रदान तथा सरोकारवालासँग मानव अधिकारको अवस्थाबारे छलफल गरिएको इन्सेक संयोजक सुवेदीले बताउनुभयो । सो अवसरमा शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले इन्सेकले मानव अधिकारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।

स्थानीय तहभित्रका मानव अधिकारसँग सम्बन्धित समस्याका विषयमा इन्सेकको माध्यमबाट आपूmहरू समेत सचेत भएर काम गरेको उहाँको भनाइ थियो । यस्तै शारदा नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितीका संयोजक सावित्रा बस्नेतले इन्सेकसँगको सहकार्यमा न्याय प्रकृयामा समेत सहजता भएको बताउनुभयो ।

विभिन्न समस्याका बावजुद पनि पीडितलाई न्याय दिलाउन सफल भएको बताउँदै उहाँले जिल्लामा अधिकारकर्मीको भूमिका सराहनीय भएको बताउनुभयो । कार्यक्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मानव अधिकार समूहका संयोजक तथा सल्यानको शारदा नगरपालिकाका संयोजक, सदस्यहरूसँग छलफल  र आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने भन्ने विषयमा समेत समिक्षा गरिएको थियो ।

मिना बुढाथोकी