मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार छौं ः उपाध्यक्ष पुन

सुर्खेत । २०७९ कात्तिक ३ गते

बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार भएको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्वारा कात्तिक १ गते आयोजित परियोजना परिचय तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले आफ्नो पालिकामा मानव अधिकारका विषयमा वकालत गर्नको लागि इन्सेक संस्था आएको हुँदा खुशी भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले संस्थाको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । यस्तै कार्यक्रमको उद्देश्य, इन्सेकको परिचय, मानव अधिकार र अहिलेसम्म इन्सेकले गरेको प्रगति प्रतिवेदन इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले प्रकाश पार्नु भयो । परियोजनाको बारेमा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका फोकल पर्सन दुर्गा थापाले प्रकाश पार्नु भएको थियो ।

   

कार्यक्रममा विशेष अतिथि श्री जनज्योति नमूना मा. वि. का प्रद्यानाध्यापक नारायण सिग्देल, श्री सूर्यज्योति मा.वि.का प्रद्यानाध्यापक केशरबहादुर गौतम, बराहताल गाउँपालिका ५ र ७ का वडा अध्यक्ष क्रमशः धिमराज जोल्मी मगर, कुल बहादुर बुचा रहनु भएको थियो । कार्यक्रममा विभिन्न नागरिक समाज र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागी थियो । सोही कार्यक्रममा पालिका स्तरीय ११ सदस्य मानव अधिकार समूह गठन भएको छ । जसमा मानव अधिकार समूहको संयोजकमा तिलक मर्साङि हुनुभएको छ । सदस्यमा डम्बरबहादुर कठायत, गोमा विक, ख्यामु पौडेल, सुमित्रा सिजाली, छबिलाल शर्मा, गोविन्द गौतम, चन्द्रा घर्ती मगर, कृष्णबहादुर विक, अमृता रैमा सुनार सदस्य रहनु भएको छ ।

प्रभा कुमारी रावत