मानव अधिकारको क्षेत्रमा समाज र राज्यका निकायसमेत सकारात्मक भएनन्
अछाम । २०७७ कात्तिक २९ गते
मानव अधिकारका क्षेत्रमा काम गर्दा समाज र राज्यका अङ्गहरू समेत सकारात्मक नभएको मानव अधिकार रक्षकको अवस्था तथा सवालको जिल्लास्तरीय समीक्षा बैठकका सहभागीहरूले निष्कर्ष निकालेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले डिसिएको सहयोगमा जिल्लास्तरिय मानव अधिकार रक्षक सञ्जालको बैठकमा पीडकले आफ्नो विरुद्धमा र कानुन कार्यान्वयन गर्ने निकायले आफ्नो काममा अवरोध भएको अनुभव गर्ने गरेको सहभागीहरूले निश्कर्ष निकालेका हुन् ।
मानव अधिकारविरुद्धका घटनामा वकालतमा सहज नभएको भन्दै सामाजिक न्याय प्रत्याभूतिमा राज्य र समाजले अवरोध गरिरहेको नागरिक समाजका अध्यक्ष शङ्करबहादुर रावलले बताउनु भयो । उहाँले मानव अधिकार हनन्का मुद्दामा सबैले पीडितमैत्री भएर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ अछामका कोषाध्यक्ष टेकबहादुर थापाले कोभिड सङ्क्रमणले आमसञ्चारमा कार्यरत केही पत्रकारले समयमै पारिश्रमिक पाउन नसकेको भनाइ राख्नुभयो । बैठकले अछाममा रहेका मानव अधिकारका साझा विषयलाई समेटेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।
शिवराज ढुङ्गाना