








दार्चुला । २०७८ पुस ९ गते
प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले मानव अधिकारको संरक्षणको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाले पुस ९ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व समीक्षा गोष्ठीमा बोल्दै उक्त आग्रह गर्नु भएको हो । ‘जिल्लाको तथ्याङ्क हेर्दा मानव अधिकारको अवस्था सन्तोषजनक छैन भन्ने नै देखाउँछ,’ प्रजिअ जोशीले भन्नुभयो ‘मानव अधिकारको संरक्षणको लागि सम्बन्ध निकायले सहकार्य गनु पर्छ ।’ उहाँले भन्नु भयो, मानव अधिकारको विषय क्षेत्र सम्वेदनशील छ । अहिले इन्सेकले प्रस्तुत गरेको जिल्लाको अवस्था विश्लेषण सहितको तथ्यले पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाउँछ । उहाँले इन्सेकले वर्षभरी जिल्लामा भएका घटनाको अभिलेखिकरण गरेर राज्यलाई जिम्मेवार बनाएको बताउनु भयो ।
मानव अधिकारका क्षेत्रमा अन्य निकाय पनि काम गर्लान् उहाँले भन्नुभयो तर व्यवस्थित रुपमा दस्तावेजीकरण गर्ने काम इन्सेकको प्रंशसनीय रहेको छ । मानव अधिकार रक्षक सञ्जाल, दार्चुलाका अध्यक्ष शङ्करसिह धामीले मानव अधिकारको अवस्था बारे इन्सेकले हरेक वर्ष महत्वपूर्ण तथ्याङ्क अभिलेखिकरण गर्ने गरी जिम्मेवार निकायलाई नै सहभागि गराएर समीक्षा गर्नु सराहनीय भएको बताउनु भयो । उहाँले भन्नुभयो दार्चुलाको व्यासी नागरिकले अहिले पनि आफ्नै भूमी हिड्न घोरेटो बाटो समेत नहुनु दुखद भएको भन्दै उनीहरुको अवस्था बारे समेत वर्ष पुस्तकमा समेट्नु पर्ने बताउनु भयो । व्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करका नागरिकहरु आफ्नै भूमी भएर हिड्ने बाटो नभएकोले यस तर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताउनु भयो ।
अग्रज पत्रकार हिरासिह धामीले व्यास गाउँपालिका–२ मालका जयसिह धामीको हत्यामा भारतीय एसएसबीको प्रत्यक्ष संलग्नतादेखिएको विषय पनि वर्ष पुस्तकमा समेट्न सुझाव दिनु भयो । यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको भन्दै उहाँले यो विषय महत्वपूर्ण भएको बताउनु भयो । इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका ५९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु प्रस्तुत गर्नु भएको थियो । जसमा बलात्कार तथा यौन दुव्र्यवहारका नौ ओटा, बहुविवाहका चार ओटा, बालविवाहका चार ओटा, हत्याका तीन ओटा र घरेलु हिंसाका ३९ ओटा घटना रहेका छन् ।
नरेन्द्रसिंह कार्की