








नुवाकोट । २०७९ मङ्सिर २१ गते
शिवपुरी गाउँपालिकामा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको कार्यक्रममा समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम इन्सेकले सञ्चालन गरेको हो । शिवपुरी गाउँपालिका वडा नं. ७ मा मङ्सिर १५ गते र वडा नं. ८ मा मङ्सिर १६ गते तालिम सञ्चालन गरिएको थियो । तालिममा महिला तथा बाल समूहका पदाधिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । सहभागीहररूलाई बालबालिकासम्बन्धी ऐन २०७५ मा गरिएको कानुनी व्यवस्थाको बारेमा जानकारी दिइएको थियो ।
बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बालबालिकाहरूको सहभागिता शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम अधिकृत कृष्ण नेपालले सहजिकरण गर्नु भएको थियो । यसैगरी, दलित, अल्पसंख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका छन् । बाल हिंसा, दुर्व्यवहार पीडित र अधिकांश बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनीहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो । सहभागीहरूले बालबालिकाको अधिकारलाई प्रवर्धन गर्नको लागि स्थानीय सरकारले चासो दिनु पर्ने धारणा राखेका थिए ।
नवदीप श्रेष्ठ