मानव अधिकारसम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

नुवाकोट । २०८० जेठ १४ गते

मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धि अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७ सुनखानी र शिवपुरी गाउँपालिका-८ थानापतिका १५ ओटा महिला समूहका सदस्यहरू सहभागी भएका थिए । डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले शिवपुरी गाउँपालिका–७ र ८ मा अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन गरेको हो । तालिमको उद्घाटन सत्रमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले समाजलाई परिवर्तन गराउनको लागि मानव अधिकार तथा कानुनी विषयमा हरेक नागरिकले जानकारी राख्नु पर्ने बताउनु भयो । नेपालमा भएका विभिन्न आन्दोलनले महिला अधिकारलाई स्थापित गरेको र यो अधिकारको विषयमा समुदायका पीँधमा परेकालाई पनि जानकारी दिन आवश्यक रहेकोले यो तालिमबाट लिएको जानकारी समुदायका हरेक क्षेत्रसम्म पुग्ने अपेक्षा राखेको अध्यक्ष थपलियाले बताउनु भयो ।

      

कार्यक्रममा शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले समाजमा अहिले भू्रणहत्याको घटनाहरू पनि बढेकोले महिलाहरूले यसलाई रोक्नको लागि भूमिका खेल्नु पर्ने बताउनु भयो । उपाध्यक्ष तामाङले पछिल्लो समय हरेक क्षेत्रमा महिला सहभागिता बढीरहेको उल्लेख गर्दै महिला सहभागिताले समुदायलाई थप सचेत बनाउँदै लगेको बताउनु भयो । कार्यक्रममा डब्लुपीडी नेपालकी फिल्ड सुपरभाइजर कमला थपलियाले परियोजनाले सञ्चालन गरिरहेको गतिविधिहरू बारे जानकारी दिनुभयो । तालिममा सहभागीहरूलाई स्थानीय तहको मानव अधिकार सयन्त्र, मानव अधिकार विकासक्रम, मानव अधिकार संरक्षणमा स्थानीय तहको भूमिका र न्यायिक समितिका काम कर्तव्य अधिकार, प्रजनन् अधिकार, महिलामाथि हुने हिंसा र हिंसा नियन्त्रणमा स्थानीय तहको भूमिका, नेतृत्व विकास लगायत विषयमा जानकारी दिइएको थियो । तालिममा इन्सेक कार्यक्रम संयोजक कृष्णप्रसाद नेपाल, इन्सेक जिल्ला प्रतिनिधि तथा अधिवक्ता नवदीप श्रेष्ठ, नुवकोट बार एसोसिएसनकी सहसचिव अधिवक्ता गरिमा पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

 

नवदीप श्रेष्ठ