मानव अधिकार अवस्थाका बारेमा छलफल कार्यक्रम सम्पन्न
बाँके । २०८० जेठ ४ गते
बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूसँग जेठ ४ गते मानव अधिकारको अवस्थाका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य, वातावरण, महिला तथा बालबालिकाको अधिकार लगायतका विषयमा मानव अधिकार रक्षक सञ्जालले गरेका गतिविधिका बारेमा छलफल गरिएको छ । सञ्जालका संयोजक भागीलाल बिकले बालबालिका र महिला हिंसाका घटनामा मेलमिलाप तथा न्यायीक प्रक्रियाकालागि सहयोग गरेको बताउदै जातीय विभेदका घटनाहरू समाज अझै रहेको बताउनु भयो । बाल विवाह न्यूनिकरण गर्न चुनौती रहेको बताउदै बिकले जातीय विभेद र बाल विवाह न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
सह संयोजक तुलसा ज्ञवालीले पक्षघातका कारण १२ वर्षसम्म थला परेकी बैजनाथ गाउँपालिका –६की ओइली पुनमगरको अपाङ्गता परिचय पत्र बनाउन पहल गरी निलो परिचय पत्र बनाउन सफल भएको बताउनु भयो । सञ्जालका सदस्य एवम् अपाङ्गता सञ्जालका सदस्य वेदप्रसाद आचार्यले स्थानीय तहका वडाहरूमा पटक पटक अपाङ्गमैत्री भवन तथा वातावरण बनाउन पहल गर्दा पनि सुनुवाइ नभएकोले सञ्जाल मार्फत दबाबसहित माग गर्न जरूरी रहेको बताउनु भयो । सञ्जालकी सचिव लक्ष्मी सुनारले गाउँमा रहेको क्रसर उद्योगले वातावरण प्रदुषण गरेको र खानेपानीको समस्या भएको रहेको बताउनु भयो । उक्त गाउँपालिकामा इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रममार्फत स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्दैै आएको छ ।
लक्ष्मी थारू