मानव अधिकार अवस्थाका विषयमा संचारकर्मीसँग अन्तरक्रिया

सुर्खेत । २०७९ असार ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा मानव अधिकार अवस्थाका विषयमा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम असार ७ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख मानबहादुर कार्कीले आयोगको सूचनाको स्रोत मिडिया भएको र प्रकाशित समाचारका आधारमा उजुरी दर्ता गर्न सकिने भएकाले मानव अधिकार उल्लङ्घनका घटना प्रकाशन गर्दा ध्यान दिन सुझाव दिनु भयो । मानव अधिकारका विषयमा समाचार प्रकाशन गर्ने पत्रकारलाई आयोगले पुरस्कृत गर्ने र कर्णालीका पत्रकारलाई आगामी दिनमा मानव अधिकारका सवालमा तालिम दिने योजना रहेको जानकारी गराउनु भयो । कार्यक्रममा मध्यपश्चिमाचल विश्व विद्यालयका उपप्राध्यापक यूवराज शर्माले छापा माध्यममा मानव अधिकार विषयमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सुर्खेतबाट प्रकाशित युगआह्वान र साझा विसौनीमा एक महिनामा प्रकाशित मानव अधिकार सम्बन्धि समाचारलाई उपप्रध्यापक शर्माले विश्लेषण गर्नु भएको थियो । शर्माको विश्लेषणमा युगआह्वानले एक महिनामा आठ प्रतिशत र साझा विसौनीले ११ प्रतिशत मानव अधिकारसँग सम्बन्धित समाचार प्रकाशन गरेको प्रतिवेदन सार्वजनिक गर्र्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्माले मानव अधिकार उल्लङघनका घटना किन हुन्छन भन्ने विषयमा अध्ययन गर्नु पर्ने सुझाव दिनु भयो ।

 

नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटाले ग्रामिण क्षेत्रमा भएका मानव अधिकारसँग सम्बन्धित समाचार उठान गर्नु पर्नेमा जोड दिनु भयो । अबका दिनमा मानव अधिकार विट पत्रकारिता सु्रुवात गर्नु पर्ने सुझाव दिनु भयो । मानव अधिकार समूह सुर्खेतका अध्यक्ष लक्ष्मी शर्माले संविधानमा निशुल्क शिक्षा, स्वच्छ खानेपानी लगायतका अधिकारको सुनिश्चितता गरेको भएपनि नागरिकले आधारभुत आवश्यकता उपभोग गर्न नपाएको बताउनु भयो । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले विभिन्न सूचकका आधारमा कर्णाली प्रदेशको मानव अधिकार अवस्था अन्य प्रदेशको तुलनामा कमजोर रहेको बताउनु भयो । कर्णालीमा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार, महिला र बाल अधिकार, जातीय छुवाछुत, संक्रमणकालीन न्याय, अपाङ्गताको सवाल, यौनिक अल्पसंख्यक, प्राकृतिक प्रकोप, मानव अधिकार रक्षकको अवस्था, आदिवासी जनजातीका सवालमा मिडियाले आगामी दिनमा थप प्र्रभावकारी रुपमा उठान गर्नुपर्नेमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले हामीसँग यस विषयमा समाचार लेख्ने रुचि भएपनि फलोअप गर्ने बानी नभएको बताउनु भयो । कार्यक्रमका अन्य सहभागि संचारकर्मीले आगामी दिनमा यस्ता कार्यक्रम सम्पादक र समाचार अपरेटरलाई राखेर गर्नुपर्ने, संचारकर्मीलाई मानव अधिकारका विषयमा तालिम उपलब्ध गराइनु पर्ने सुझाव दिनु भएको छ । छापा माध्यमका साथसाथै एफएम र टेलिभिजनमा पनि मानव अधिकारका सवालले प्राथमिकता पाए नपाएको सम्बन्धमा अध्ययन गरिनु पर्ने र यस्ता कार्यक्रम निरन्तर गरिनु पर्ने सुझाव सहभागिहरूले दिनु भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत