








कालीकोट । २०७८ भदौ २९ गते
इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले जिल्लाको मानव अधिकार अवस्थाका विषयमा कालिकोटस्थित प्रहरी र प्रशासनसँग भदौ २७ गते छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाह, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र श्रेष्ठ र इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी र कार्यक्रम फोकल पर्सन दुर्गा थापाबिच छलफल भएको हो । छलफलमा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा बजार अनुगमनको अधिकार कटौती भएर स्थानीय तहमा गएकाले गाउँमा अखाद्य तथा गुणस्तरहिन वस्तुहरू जाने गरेको बताउनु भयो ।
जिल्ला प्रशासनले केही दिन अघि गरेको बजार अनुगमनका क्रममा केही अखाद्य वस्तु भेटिएपछि बरामत गरी नष्ट गरेको भन्दै उहाँले बजार अनुगमनका लागि आवश्यक प्राविधिकको कमी भएकाले प्रभावकारी अनुगमन हुन नसकेको जिकिर गर्नुभयो । यस्तै बाल विवाहका घटना बढ्दै गएको र यसमा सरकारी तथा गैर सरकारी निकायबाट प्रभावकारी कार्यक्रम नहुँदा न्यूनीकरण हुन नसकेको प्रजिअ आचार्यको भनाइ छ । छलफलमा जिल्ला प्रहरी कार्यालयका डीएसपी शाहले बलात्कारका घटना विगतको तुलनामा बढेको बताउनु भयो । प्रहरीमा आएको उजुरी मध्ये करिब ५० प्रतिशत बलात्कारका घटना झुट्ठा आउने गरेको पनि उहाँको जानकारी दिनुभयो । महिला हिंसा तथा घरेलु हिंसाका घटनाका पीडितहरू आर्थिक रूपमा कमजोर हुँदा घटना धेरैजसो घटना गाउँमै मिल्ने प्रजिअ आचार्यको भनाइ छ । न्यायिक समितिले अझै प्रभावकारी रूपमा काम गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।
कालीबहादुर मल्ल