मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन सक्दैनः बराल
बाग्लुङ । २०८० असार १५ गते
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन नसक्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले असार १५ गते सम्पन्न गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले इन्सेकले देशको मानव अधिकारको अवस्थाको बारेमा सङ्कलन गरेको दस्तावेज वर्तमानमा मात्र नभएर भविश्यमा पनि अध्यन र अनुसन्धानका लागि लाभदायी हुने बताउनु भयो । इन्सेकले प्रलेखिकरणलाई जीवन्त राख्न सधै सम्वेदनशील र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । मानव अधिकारसम्बन्धी पक्षराष्ट्र भएर दर्जनौँ सन्धि सम्झौता गरेको सरकारले गर्नुपर्ने काम इन्सेकले गरेको भन्दै उहाँले राष्ट्र र राष्ट्रका नियकायहरु पनि यस विषयमा गम्भीर हुनुपर्ने बताउनु भयो । इन्सेकले महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकमाथि हुने हिंसालाई मात्र मानव अधिकारको दायरामा नराखी वैदेशिक रोजगारिको बहानामा हुने ठगी, ठूला निर्माण कम्पनीले गरेको ज्यालामाथिको विभेद र अन्य विभेद, शिक्षा, स्वास्थ्य, खाद्य र अन्य अधिकारका विषयमा काम गर्नको लागि प्रदेशमा मात्र नभएर जिल्लामा पनि कार्यालय र कर्मचारी राखेर काम गर्न उहाँले सुझाव दिनुभयो । बागलुङ जिल्लालाई नागरिकमैत्री र मानव अधिकारमैत्री बनाउन जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले इन्सेकले तथ्याङ्क सङ्कलनमा मात्र नभएर घटना न्यूनिकरणको पाटोमा पनि काम गर्नुपर्ने बताउनु भयो । देशको मानव अधिकार सम्बर्द्धन र प्रवर्धनमा राष्ट्रिय मानव अधिकार आयोगको जत्तिकै इन्सेकको पनि महत्व र भूमिका कसैले नकार्न नसक्ने भन्दै उहाँले पीडितलाई जीविकोपार्जनसँग जोड्न, सीप र क्षमताको अभिवृद्धिसँगै घटना हुनै नदिनको लागि पनि इन्सेकको पहल हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठले इन्सेक र इन्सेकका प्रकाशनसँग आफू सन् १९९२ देखिनै जोडिएको र इन्सेकका प्रकाशनलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने गरेको भन्दै इन्सेकका गतिविधिबाट आम नागरिक पनि लाभन्वित भएको बताउनु भयो । उहाँले इन्सेकका प्रकाशनसँगै आम सञ्चार माध्यम नागरिकको आवाज बोलिदिने र निरिहको आवाज बन्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा अधिकारकर्मी हुमा कुमारी जिसी अञ्जुले आम नागरिक सचेत हुँदा घटना सार्वजनिक हुने वातावरण बन्दै गएको बताउनु भयो । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बागलुङका सचिव विजय रानाले पछिल्लो समय समाज अपराधउन्मुख बन्न थालेको भन्दै कानुनी जटिलताको कारणले न्याय पाउने सम्भावना कम भएको बताउनु भयो । उहाँले सार्वजनिक पँधेरामा अझै पनि दलित समुदायको पहुँच पुग्न नसक्नु, दलित समुदायबाट उत्पादन भएको दुध विक्री वितरण हुन नसक्नु र अन्यायमा पर्दापर्दै पनि न्यायको पहुँचमा पुग्न नसक्नु गम्भीर विषय भएको भन्दै सरोकारवाला सचेत बन्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ जनवरीदेखि जुनसम्म प्रलेख गरेका ४२ ओटा घटना प्रस्तुत गरिएको थियो । जसमा १९ ओटा घरेलु हिंसा, १२ ओटा बलात्कार, तीन ओटा बलात्कार प्रयास, तीन ओटा हत्या, तीन ओटा बहुविवाह, एउटा यौन दुर्व्यवहार र एउटा सामाजिक सांस्कृतिक तथा आर्थिक अधिकारको रहेको इन्सेकले सार्वजनिक गरेको छ ।
सिर्जना पन्त