मानव अधिकार उल्लङ्घनका पीडितका लागि रिफरल संयन्त्र गठन
जाजरकोट । २०७९ वैशाख ११ गते
मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको वैशाख १० गतेको बैठकले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरुको सहयोगको लागि रिफरल संयन्त्र गठन गरेको छ । मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई सहयोग तथा न्याय दिलाई पिडकलाई कार्वाहीको दायरासम्म पुर्याउन सहयोग गर्ने उदेश्यका साथ महिला अधिकारकर्मी शोभा सिंहको संयोजकत्वमा ११ सदस्य रिफरल संयन्त्र गठन गरिएको हो । रिफरल संयन्त्रका अन्य सदस्यहरुमा महिला मानव अधिकार रक्षक सञ्जालबाट बिजया नगरकोटी, पाँचतारा युवा संरक्षक मञ्चबाट आशा कार्की, राष्ट्रिय दलित नेटवर्कबाट बसुन्धरा विक, नेपाल पत्रकार महासङ्घबाट भरत शर्मा, गैसस महासङ्घबाट कृष्णजङ्ग शाह, बहुआयामिक तथा विकास मञ्चबाट विपना रावल, नेपाल बार एशोशियसनबाट सरस्वती शर्मा, एकल महिला समूहबाट पद्मी परियार, युवा जागरण विकास केन्द्र नेपालबाट धर्मराज परियार सदस्य रहनु भएको छ भने इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ सदस्य सचिव रहनु भएको छ ।
दिनेशकुमार श्रेष्ठ