मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामा वृद्धि, सरोकारवालाहरूमा चिन्ता

मकवानपुर । २०७८ असार ३१ गते

जिल्लामा मानव अधिकार उल्लङ्घनको घटना वृद्धि भएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म (१७ पुसदेखि असार १६ गते) ६ महिनाको अवधिमा ४९ ओटा मानव अधिकार उल्लङ्घन ज्यादतीका घटना अभिलेख अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले जानकारी दिएको छ । गत वर्ष सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना इन्सेकले अभिलेख गरेको थियो । इन्सेक मकवानपुरले ०७८ असार ३१ गते सरोकारवालासँग जिल्लामा मानव अधिकारको अवस्था तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व अर्धवार्षिक समीक्षा गर्दै जिल्ला प्रतिनिधिले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बारेमा जानकारी दिनुभयो । ६ महिनाको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ४९ ओटा घटनामध्ये ४७ जना महिला, ३ जना पुरुष पीडित भएका छन् । बाल अधिकारका घटनामा २३ जना बालिका पीडित भएकोमा १८ जना बलात्कार र ५ जना यौन दुव्र्यवहारबाट पीडित भएका छन् । महिला अधिकारका घटनामा १६ जना पीडित भएकोमा १३ जना बलात्कार, तीन जना बलात्कार प्रयास र तीन जना बहुविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा सात ओटा हत्याका घटना भएका छन् । जसमा पाँच जना महिला र दुई जना पुरुष छन् एउटा कुटपिटको घटना अभिलेख भएको छ ।

इन्सेक प्रतिनिधिका अनुसार यस वर्ष परिवारजनबाट तीन जना बालिका सहित सात ओटा बलात्कारको घटना र पाँच ओटा हत्याको घटना समेत अभिलेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले मानव अधिकार सुनिश्चित गराउन र पीडितलाई न्याय दिलाउन प्रशासनले आफूसँगै सुरक्षा निकायसँग समन्वय गरिरहने बताउनुभयो । यस्तै कार्यक्रममा सेफ हाउसको बारेमा उठेका कुरालाई सम्बोधन गर्दै आवश्यकताको आधारमा सेफ हाउसमा सुरक्षाको लागि प्रशासन तयार रहेको उहाँले बताउनभ्यो । साथै इन्सेकको अभियानमा आफू पनि आठ/नौ वर्षदेखि निरन्तर संलग्न रहेको भन्दै घटनाको विवरण र पीडितको न्यायको लागि इन्सेकको वर्ष पुस्तक प्रभावकारी माध्यम बन्ने पनि गरेको गर्तौलाले बताउनुभयो । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेकले १९९२ देखि नै हरेक वर्ष निरन्तर नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनुभयो । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका बारेमा आधिकारिक उजुरी र दर्ता भएका घटनाहरूमात्र अभिलेख गर्ने हुनाले घटनाहरू कम देखिएको उहाँले बताउनभयो ।

गौतमले पीडितलाई न्याय दिने र पीडकलाई कारबाहीको लागि पहल गर्ने इन्सेकको प्रमुख काम भएको बताउनुभयो । यस्तै सरोकारवालाहरूबाट आएको सुझावले वर्ष २०२२ को पुस्तक तयार गर्न अझ सहयोग पुग्ने उहाँको धारणा थियो । मानव अधिकार संरक्षण तथा मानव वेचबिखन बिरुद्धको सञ्जाल मकवानपुरकी संयोजक आरती पाठकले घटनाको विवरणसँगै समाधानका उपाय पनि आउन सके राम्रो हुने बताउनुभयो । बालबिवाहको कारण सम्बन्ध बिच्छेद, बहुबिवाह र घरेलुहिंसा बढ्ने भएकोले बालबिवाह अत्यको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनिकरण हुँदै जानु पर्नेमा बढ्दै जानु चिन्ताको विषय भएको बताउनु भयो । कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले जिल्लामा कोभिड–१९ को कारण जारी गरिएको निषेधाज्ञाको अवधिमा बालबालिका तथा महिलाविरुद्धका हिंसाका घटनाहरू बढेकामो चिन्ता व्यक्त गर्नु भयो । उहाँले उजुरीको सङ्ख्या निकै कम भएकोले यसतर्फ सबै मिलेर घटनाको उजागर गर्दै पीडितलाई न्याय दिलाउन लाग्नुपर्ने बताउनभयो । सिविन हेल्पलाईनका संयोजक झविन्द्र ज्ञवालीले जिल्लामा बाल बिवाह अत्याधिक बढिरहेको छ । तर, उक्त घटनाहरू दर्ता नहुँदा इन्सेक तथा अन्य प्रशासनिक निकायमा तथ्याङ्क नरहने भएकोले इन्सेकले दर्ता भएका घटनामात्र नभई मानव अधिकार उल्लङ्घन भएका घटनाका आधारमा अभिलेख राख्न सुझाव दिनुभयो । साथै बालबालिकाको क्षेत्रमा राष्ट्रिय बालअधिकार परिषद्, बाल हेल्पलाईन १०९८ र १०४ लाई पनि सूचनाको रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

अधिवक्ता तथा अधिकारकर्मी दिपेन्द्र ढकालले हिंसामा परेका बालिकाहरूको संरक्षणको लागि राखिने सेफ हाउस कत्तिको सेफ होला भन्दै प्रश्न गर्नुभयो । उहाँले सेफ हाउस नै असुरक्षित भएकाले पीडित बालिकाहरूलाई प्रभावित पार्नेे, अन्य व्यक्तिहरू सहज प्रवेश गर्ने जस्ता गतिविधि हुने भन्दै सेफ हाउसलाई कसरी सुरक्षित राख्न सकिन्छ त्यसतर्फ प्रशासनको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले सेफ हाउस सञ्चालनको लागि समस्या भएको बताउनुभयो । विभिन्न पक्षबाट घटनामा बार्गेनिङ गर्छ भनेर आरोप लाग्ने गरेको भन्दै हिंसाबाट पीडित भई आएका बालिकाहरूलाई संरक्षण गरी राख्न कठिन भएको बताउनुभयो । यस्तै बलात्कारका घटनाबाट गर्भवती बनेका बालिकाहरूको सुरक्षित गर्भपतन गराउने र गर्भपतन गर्ने अवधि नाघिसकेका बालिका तथा महिलाहरूबाट जन्मेका बच्चाको अधिकार कसरी सुनिश्चित गराउने भन्ने विषयमा समस्या पर्ने गरेको पनि उहाँले बताउनुभयो । पत्रकार सुरेश श्रेष्ठले समस्याहरूको बारेमा छलफल गर्दा समाधान पनि के हो भनेर पहिचान हुन आवश्यक रहेको औँल्याउनुभयो ।

साथै मानव अधिकारका विषयमा प्रशासनसँगै स्थानीय तहलाई जिम्मेवार बनाई नागरिकको अधिकार सुनिश्चित गराउन सबै क्षेत्रबाट पहल गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरकी इन्सपेक्टर चुडाकुमारी खड्काले बाल बिवाहको केशमा अभिभावकहरू छोराछोरी हरायो भनेर खोजीदिन उजुरी गर्छन् र सोही अनुसारको अनुसन्धान हुने हुनाले बालबिवाहको रूपमा घटना दर्ता नभएको बताउनुभयो । यस्तै प्रहरीसमक्ष आइपुग्ने घटनाहरूको न्यायिक निरूपणको लागि प्रहरीले पीडितको पक्षमा काम गर्ने गरेको बताउनुभयोे । कार्यक्रममा गैसस महासङ्घ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले सबै घटनाहरूको सुरुवाती कारण घरेलु हिंसाबाट सउत्पन्न हुने भएकोले घटना न्युनिकरणको लागि सबैले सोच्नुपर्ने बताउनुभयो । अधिवक्ता अप्सरा बस्नेतले बालविवाह, बहुबिवाह तथा घरेलु हिंसाका कारणनै सम्बन्ध विच्छेदका घटना बढ्दै गएको हुँदा यसलाई पनि मानव अधिकार उल्लङ्घनकै रूपमा अभिलेख गर्न सुझाउनु भयो । इन्सेक बागमती प्रदेशका गणेश भण्डारीले समाजमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना जति देखिन्छन् ति सबै न्यायका लागि प्रहरी प्रशासनमा नपुग्दा अभिलेख गर्न नसकिएको बताउनु भयो । प्राप्त सूचनाका आधारमा अभिलेख गर्दा पीडितलाई थप पीडा हुने तर्फ पनि सचेत हुनु पर्ने उहाँको धारण थियो ।

पुष्पराज अधिकारी