मानव अधिकार तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

सुर्खेत । २०७७ कात्तिक २० गते

 

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखीकरण सम्बन्धी पुनर्ताजगी तालिम कात्तिक १९ गते विरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार उल्लङ्घनका तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले कर्णाली प्रदेशका दश वटै जिल्लाका इन्सेक प्रतिनिधिहरूको उपस्थितीमा उक्त तालिम सम्पन्न भएको हो  इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले तथ्याङ्कलाई चुस्त र व्यवस्थित गर्न जिल्ला प्रतिनिधिहरू क्रियाशिल हुनुपर्ने बताउनु भयो । कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्य तथ्यमा आधारित हुनु पर्ने बताउनुभयो ।

साथै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने सम्पूर्ण घटनाहरूलाई विश्वशनिय र तथ्यपूर्ण बनाउन इन्सेकले नयाँ सफ्टवयर निर्माण गरी कार्यान्वयनमा ल्याएको कार्यकारी निर्देशक गौतमको भनाई थियो । यस्तै कार्यक्रममा मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले मानव अधिकार अभिलेखीकरणलाई प्रविधियुक्त बनाउन र जिल्ला प्रतिनिधिहरूको क्षमता अभिबृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तालिमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रलेख अधिकृत टीका बिष्टले गर्नुभएको थियो ।

दुर्गा थापा