मानव अधिकार तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

धनुषा । २०७७ कात्तिक २४ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा प्रदेश २ का आठ ओटै जिल्लाका जिल्ला प्रतिनिधिहरूलाई मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिम कात्तिक २४ गते लालगढमा सम्पन्न गरिएको छ । मानव अधिकार उल्लङ्घनसम्बन्धी घटनाका तथ्याङ्कहरूलाई डिजिटिलाइज गर्ने उद्देश्यका साथ प्रदेश २ का आठ ओटै जिल्लाका इन्सेक प्रतिनिधिहरूका लागि उक्त तालिम आयोजना गरिएको हो ।

इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले तथ्याङ्कलाई विश्वसनीयताका साथ प्रविधिमैत्री र चुस्तदुरुस्त राख्नुका साथ व्यवस्थित गर्न तथ्याङ्क अभिलेखीकरणसम्बन्धी पुनर्ताजगी तालिमको आयोजना गरेको बताउनु भयो । कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्य तथ्यमा आधारित हुनु पर्नेमा जोड दिनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने सम्पूर्ण घटनाहरूलाई विश्वनीय र तथ्यपूर्ण तथा व्यवस्थित र डिजिटिलाइज बनाउन इन्सेकले नयाँ सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याएको कार्यकारी निर्देशक गौतमले बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले मानव अधिकार अभिलेखीकरणलाई प्रविधियुक्त बनाउन र जिल्ला प्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताउनु भयो । मानव अधिकार शिक्षा कार्यक्रमका प्रमुख मदन पौडेलले जिल्ला प्रतिनिधिहरूलाई प्रविधिसँग जोड्दै तथ्याङ्क सङ्कलन र तथ्याङ्क प्रविष्ट गर्न आयोजित तालिमले सहभागिहरूको क्षमतामा अभिवृद्धि हुनेमा विश्वास व्यक्त गर्नु भयो । इन्सेकका सूचना प्रविधि अधिकृत अनुज केसीले सहभागीलाई भर्चुअल माध्यमबाट तथ्याङ्क सङ्कलन तथा डाटावेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यातदीका घटना अभिलेख गर्ने माध्यमबारे सहजिकरण गर्नु भएको थियो ।

दिपेन्द्रप्रसाद सिंह