मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
कास्की । २०७७ कात्तिक १८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेशका जिल्ला प्रतिनिधिहरूका लागि कात्तिक १७ गते मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ । इन्सेकले अभिलेख गरिराखेको मानवअधिकार प्रलेखिकरण डिजिटल प्रविधिमा अभिलेखन गर्ने उद्धेश्यले जिल्ला प्रतिनिधिहरूलाई अभिमुखीकरणका लागि तालिम आयोजना गरिएको हो ।
तलिमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक जिकास मन्त्री माननीय नरदेवी पुन मगरले इन्सेकले गरेको मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको अनुगमन र अभिलेखिकरणले मुलुकको मानव अधिकार अवस्थालाई उजागर गर्न र राज्यलाई मानव अधिकार प्रति जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुगेको छ भन्दै नयाँ प्रविधिको प्रयोगले अभिलेखिकरणलाई विश्वसनिय, तथ्यपरत र चुस्तदुरूस्त बनाउन सहयोग पुग्न विश्वास व्यक्त गर्नुभयो । गैसस महासङ्घ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले इन्सेकले लामो समय देखि नेपालको मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
तालिममा बोल्दै इन्सेकका मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले धेरै भन्दा धेरै पीडित र पीडितका परिवारसँग नजिक रहेर मानव अधिकारको अभियानलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । अभिलेखिकरणको काम चुनौतीपूर्ण रहको बताउदै इन्सेकको अभिलेखलाई गुणस्तरीय बनाउनका लागि सफ्टवेयर तयार गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा कार्यक्रम संयोजक सरिता पुरीले घटना स्थलमा पुगेर अभिलेख गर्नका लागि एपलिकेसनले सहज बनाउने बताउनुभयो । उहाँले घटनाहरू डिजिटलाईज रूपमा अभिलेखिकरण गर्नका लागि तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार मूल्य र मान्यताका आधारमा काम गर्दै आएको बताउँदै नागरिकको मानव अधिकारको संरक्षणमा प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रलेखीकरण गर्ने मात्रै नभइ पीडित र पीडकहरूसँगको प्रत्यक्ष रूपमा भेट गरी घटनाको न्याय निरूपणको अवस्थासम्म अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।
सुशन घिमिरे