मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन तर्जुमा गर्न प्रतिबद्ध छौः सांसद
काठमाडौँ । २०७८ फागुन १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा फागुन १४ गते धुलिखेलमा आयोजित छलफल कार्यक्रममा सहभागी विधायकहरूले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन तर्जुमा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणसम्बन्धी नमूना कानुनबारे विधायकहरूसँगको छलफल कार्यक्रममा सहभागी सांसदहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा प्रतिनिधिसभाको न्याय कानुन तथा मानव अधिकार समितका सभापति कृष्णभक्त पोखरेलले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि कानुन वा मानव अधिकार आयोगसम्बन्धी कानुनमा नै व्यवस्था गर्ने विकल्पमा छलफल गरी निश्कर्षमा पुग्नु पर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो-‘यससम्बन्धमा स्पष्ट कानुनी व्यवस्था चाहिएको छ । त्यसका लागि आफूहरूको भूमिका सकारात्मक हुन्छ । हामी यो विषयमा नागरिक समाजसँगसँगै छौँ ।’ राष्ट्रिय सभाको विधायन समितका सभापति परशुराम मेघी गुरुङले मानव अधिकार रक्षकको अधिकार संरक्षण हुन सके मात्रै अरूको मानव अधिकारको मुद्दा मुखरित हुने बताउनु भयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सुर्य ढुङ्गेलले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि सरोकारवाला सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले अग्रपङ्तिमा रहेर काम गर्ने मानव अधिकार रक्षकका अधिकारलाई संरक्षण गर्न कानुनको आवश्यकता रहेको बताउनु भयो । कार्यक्रममा सहभागी सांसद तथा मानव अधिकारकर्मीहरूले यस्ता छलफलबाट विषयमा प्रष्टता हुने बताउँदै मानव अधिकार रक्षकका अधिकारको संरक्षणका लागि कानुन निर्माणमा जोड दिए ।
अनलाइन डेस्क