मानव अधिकार रक्षकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
सुर्खेत । २०७८ पुस १५ गते
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम पुस १४ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल, सुर्खेतमा आवद्ध मानव अधिकार रक्षक सहभागि भएको कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार, मानव अधिकार रक्षकको परिभाषा, रक्षकका काम, मानव अधिकार रक्षक सम्बन्धी घोषणा पत्र र मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षण गर्ने सम्बन्धमा नेपाल सरकारको गृह मन्त्रालयले गरेको आदेश सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।
मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक सर्मिला विसीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सहभागिहरूले मानव अधिकार रक्षकहरूको विवरण सङ्कलन गरिनु पर्ने, स्थानीय तहमा पनि मानव अधिकार रक्षक सञ्जाल गठन गरिनुपर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा गैसस महासङ्घका केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज घनश्याम केसीले सरकारसँग हातेमालो गरी सामाजिक संघ संस्थाहरूले कार्यक्रम गर्न तयार रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य दिपेन्द्र शर्माले मानव अधिकार रक्षकको आचारसंहिता बनाउनु पर्ने बताउँदै रक्षककाबीचमा पर्याप्त कानूनी तथा आवश्यक विषयमा छलफल चलाउनु पर्ने सुझाव दिनु भयो । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष श्रीधर पौड्यालले विकास र मानव अधिकारका सवालमा अधिकारकर्मीले आवाज उठाउनु पर्ने बताउँदै समय परिस्थिति अनुसार इन्सेकले मानव अधिकारका सवाललाई उठाउनु पर्नेमा जोड दिनुभयो । संचारिका समूह कर्णाली प्रदेशका अध्यक्ष सिता ओलीले मानव अधिकार रक्षकमा पनि महिला मानव अधिकार रक्षक थप जोखिममा परेको बताउनुभयो । अन्य अधिकारकर्मीको तुलनामा यौनिक अल्पसङ्ख्यक बढी जोखिममा परेकाले यस तर्फ सबैको ध्यान जरूरी भएको निलहिरा समाजका अन्जली विसीले सुझाव दिनुभयो । सञ्जालका संयोजक विसीले अधिकारकर्मीले काम गर्ने दौरानमा सन्तुलनमा रहेर काम गर्न नसक्दा जोखिम भोग्नु परेको बताउँदै रक्षकले गर्नुपर्ने काम कर्तव्य र अधिकारका विषयमा सबै मानव अधिकार रक्षक स्पष्ट हुनुपर्ने सुझाव बताउनुभयो ।
इन्सेक कर्णालीप्रदेश कार्यालय, सुर्खेत