मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनका सरोकार विषयक अन्तरक्रिया सम्पन्न

सुर्खेत । २०७९ भदौ १५ गते

मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनका सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम भदौ १५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकका लागि छुुट्टै खालको कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । मानव अधिकार रक्षकहरू जोखिममा रहेको बताउँदै रक्षकहरू एकजुट भई खबरदारी गर्नु पर्ने मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले जोड दिनु भयो । राष्ट्रिय मानव अधिकार आयोग, सुर्खेतका प्रमुख मानबहादुर कार्कीले मानव अधिकार रक्षकहरूले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा चासो लिनु पर्ने बताउँदै अपराधका घटनामा बढी केन्द्रित नहुन सुझाव दिनु भयो । मानव अधिकार रक्षकलाई जोखिम भएमा आयोगलाई खबर गर्न अनुरोध गर्दै प्रमुख कार्कीले रक्षक जोखिममा परेको सूचना पाएको २४ घण्टा भित्रै आयोगले संरक्षणका लागि कार्य गर्न सक्ने जानकारी दिनु भयो । आयोगले हालसम्म १२ हजार मध्ये ६ हजार मानव अधिकार उल्लङ््घन भएका घटनाको छानबिन गरी कारवाहीका लागि सरकारलाई पठाएको प्रमुख कार्कीले जानकारी दिनुुभयो । कर्णाली प्रदेशमा भएका मानव अधिकार उल्लङ्घनका घटनामा पनि छिटो भन्दा छिटो घटनाका विषयमा छानबिन गर्ने प्रमुख कार्कीले प्रतिवद्धता जनाउनु भएको छ । पीडितलाई न्याय दिने क्रममा रक्षक नै असुरक्षित भई रहेको नेपाल वार एशोसियसन सुर्खेतका कोषाध्यक्ष गिता कोइरालाले बताउनुुभयो । पहुँच नभएकाले मात्र सजाय भोग्ने गरेको समेत उहाँको तर्क छ । कार्यक्रममा बोल्दै अधिवत्ता हिमालयजंग शाहीले रक्षकका रुपमा काम गर्ने क्रममा राजनीतिक दवाव बढी आउने भएकाले न्याय सम्पादनमा कठिनाई हुने गरेको बताउनुुभयो । राजनीतिक स्वार्थ जोडिएर आउने भएकाले पनि वास्तविक पीडितले न्याय दिलाउन कठिनाई हुने गरेको उहाँको भनाई छ ।

   

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले नेपालमा मानव अधिकार रक्षकको संरक्षण र सम्बद्र्वन ः सरोकार र चुनौती विषयमा प्रस्तुती गर्नु भएको थियो । प्रदेश संयोजक सुवेदीको प्रस्तुतीमा मानव अधिकार रक्षक सम्बन्धी अवधारणा, संयुक्त राष्ट्र संघको मानव अधिकार रक्षक सम्बन्धी घोषणा–पत्र, राष्ट्रिय मानव अधिकार आयोगको निर्देशिका, गृह मन्त्रालयको आदेशको संक्षित चर्चा, नेपालमा मानव अधिकार रक्षकका लागि गरिएका नीतिगत वकालत र पैरवी, मानव अधिकार रक्षकको सुरक्षा चुनौती, संरक्षणका प्रमुख सरोकार, आवश्यक प्रयास तथा सहकार्यका विषय समेटिएका थिए । प्रस्तुतीका क्रममा संयोजक सुवेदीले मानव अधिकार रक्षकका विषयमा कानुन बनाउन इन्सेकले पहल गरिरहेको जानकारी दिनुुभयो । मानव अधिकारका विषयमा सहज रुपमा काम गर्ने वातावरण बनाउनका लागि कानुन बनाउन पहल गरेको संयोजक सुवेदीले बताउनुभयो । दलित गैरसरकारी संस्था महासंघका केन्द्रिय उपमहासचिव नारायण विकले मानव अधिकार संस्कृति बसाल्नका लागि मानव अधिकार रक्षकले भूमिका निर्वाह गर्नु पर्ने बताउँदै तीन ओटै संरचनामा मानव अधिकार सहायता कक्षको विस्तारका लागि रक्षकले आगामी दिनमा पैरवी गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी मानव अधिकार कार्ययोजना कार्यान्वयनका विषयमा पनि मानव अधिकार रक्षकले सहजीकरण गर्नु पर्नेउपमहासचिव विकले सुझाव दिनु भएको छ । मानव अधिकार रक्षक संजाल सुर्खेतकी संयोजक सर्मिला विसीले यस्ता कार्यक्रमबाट मानव अधिकार रक्षकलाई सिकाई आदान प्रदान, भूमिकाका विषयमा थप स्पष्ट बनाउनुका साथै अवधारणामा स्पष्ट भएको बताउनु भयो । नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटाले मानव अधिकारको संरक्षण र सम्बद्र्वनका लागि संचारकर्मीले निरन्तर लेखिरहेको बताउँदै यो क्षेत्रमा कामगर्ने व्यक्ति गम्भीर हुनुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय अपाङग महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष तथा नेत्रहिन संघका प्रदेश अध्यक्ष सुरेश खड्काले रक्षकहरू कमजोर वर्गका पक्षमा वकालत गर्ने भएकाले सधै असुरक्षित हुने गरेको बताउनु भयो । रक्षकको सुरक्षा र पहिचानका सवालमा आगामी दिनमा बढी केन्द्रित हुनु पर्ने खड्काले जोड दिनु भयो । कार्यक्रममा यौनिक अल्पसङ्ख्यक, द्वन्द्वपीडित, वातावरणको क्षेत्रमा कार्यरत अधिकारकर्मी, मानव अधिकार समूह, मानव अधिकार रक्षक सञ्जाल, संचारकर्मी, कानुन व्यवसायी, महिला, बालबालिका, दलित अधिकारको क्षेत्रमा कार्यरत अधिकारकर्मी समेत ४० जनाको सहभागिता रहेको थियो ।
 

प्रभा रावत