मानव अधिकार रक्षकलाई जोखिम र चुनौती बढे
कास्की । २०७७ मङ्सिर २६ गते
मानव अधिकार रक्षकहरूको जोखिम र चुनौति बढेको सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार रक्षक दिवसको सन्र्दभमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की, एड्भोकेसी फोरम, मानव अधिकार रक्षक संरक्षण र प्रर्वद्धन केन्द्र पोखरा र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको संयुक्त आयोजनामा मङ्सिर २४ गते पोखरामा भएको कोभिड–१९ ले मानव अधिकार रक्षकमा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईले राष्ट्रसङ्घले जारी गरेको मानव अधिकार रक्षकहरूको दायित्व र कर्तव्यलाई नैतिक रूपमा पालना गर्न सकेमा चुनौती र जोखिम दुवै कम हुने बताउनुभयो । ‘आन्दोलनमा ढुङ्गा हान्ने लड्ने प्रहरी आउनसाथ मानव अधिकार रक्षकको ज्याकेट लगाउने यस्ता प्रवृतिले सही ढङ्गबाट काम नगरिरहेका मानव अधिकार रक्षकहरूमा जोखिम र चुनौती थपेको छ ।’–उहांले भन्नुभयो–‘व्यवसायिकता र नैतिकतालाई पालना गर्दै मानव अधिकार रक्षकहरू कै मानव अधिकारलाई सुरक्षित बनाउनुपर्दछ ।’ नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारहरूले कोभिड–१९ का कारण मानसिक समस्या बढेको बताउँदै आहत भन्दा मानसिक स्वास्थ्यलाई राहत हुने गरी समाचार सम्प्रेषण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आम नागरिकनै मानवअधिकार रक्षक भएको बताउँदै सबैले आ–आफ्नो भूमिकालाई निष्पक्ष ढङ्गबाट निर्वाह गर्नुपर्ने भनाइ राख्नुभयो । मानव अधिकारवादी र पत्रकारले कुनै अमुक दलको विचारबाट प्रभावित हुन नहुने बताउँदै कार्ड र ज्याकेट भिरेर दुबै क्षेत्रलाई बद्नाम गराउनेहरूलाई निस्तेज पार्नुपर्ने उहाँको भनाइ थियो । गैरसरकारी संस्था महासङ्घ गण्डकी उपाध्यक्ष गोपल खड्काले मानव अधिकारको रक्षाका लागि अग्रभागमा खटिएका रक्षकहरूको स्वास्थ्य उपचार राज्यले गराउनुपर्ने भनाइ राख्नुभयो । उहाँले कोभिड–१९ को महामारीपछि मानसिक समस्या बढेको भन्दै वडागत रूपमा मनोविमर्शकर्ता राख्नुपर्ने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घ गण्डकी उपाध्यक्ष तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्माले कोभिड–१९ महामारीपछि चिकित्सक र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूमा त्रासको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले चिकित्सक, स्वास्थ्यकर्मीहरू समेत मानव अधिकार रक्षक भएको बताउँदै समय समयमा हुने आक्रमण र दुव्र्यवहारले त्रास र जोखिम बढेको भनाइ राख्नुभयो । कोभिड –१९ पछि नागरिकहरूमा बढेको संत्रासले मानसिक स्वास्थ्यमा गम्भीर असर परिररहेको उहाँको भनाइ थियो । शान्तिका लागि नागरिक समाजको सञ्जाल संयोजक विष्णु प्रसाद बरालले कोभिड– १९ पछि नागरिकहरूले स्वास्थ्यको अधिकारको सहज उपभोग गर्न नसकिरहेको भनाइ राख्नुभयो । उहाँले कोभिड–१९ पछि बन्दाबन्दीका समयमा मानव अधिकार रक्षकहरूले निरन्तर राज्यलाई मानव अधिकारका सवालमा जिम्मेवार बन्न सचेत गराउँदै आएको भनाइ राख्नुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी संयोजक शिव खकुरेलले कोभिड–१९ ले मानव अधिकार रक्षकमाथि परेको असरको विषयमा इन्सेकद्वारा गरिएको अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै, कोभिड–१९ का कारण स्वास्थ्यकर्मी र पत्रकारहरू बढी जोखिम परेको बताउनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमणपछि सरकारले गरेको लकडाउनका समयमा आर्थिक, सामाजिक तथा सांस्कृतिक एवम् नागरिक अधिकार उपभोगमा अवरोध बढेको उल्लेख गर्नभयो । राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत टङ्क खनालले मानव अधिकार रक्षक सम्बन्धी बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधानहरूको बारेमा प्रस्तुतगर्दै मानव अधिकार रक्षकहरूले समान दुरीमा रहेर काम गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले कोभिड–१९पछि पत्रकारहरूको रोजगारी गुमाउने अवस्था सिर्जना भएको बताउनुभयो । पत्रकारहरू पनि मानव अधिकार रक्षक भएको उल्लेख गर्दै उहाँले मानव अधिकार रक्षकनै अधिकार उपभोगबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको प्रति दुःख व्यक्त गर्नुभयो ।
सुशन घिमिरे
HUMAN RIGHTS NEWS PORTAL






