मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक अन्तरक्रिया सम्पन्न
कास्की । २०७८ पुस १२ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षा सवाल विषयक अन्तरक्रिया कार्यक्रम पुस ११ गते सम्पन्न गरिएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईले नेपालमा मानव अधिकार रक्षकको अवस्था सुरक्षाका सवालमा प्रस्तुतिकरण राख्दै कतिपय अवस्थामा मानव अधिकार रक्षक प्रति समाजको बुझाइ फरक रहँदा समस्या आउने गरेको बताउनुभयो । उहाँले राजनीतिक परिर्वतनका आन्दोलन देखि नागरिकहरुका अधिकार प्रत्याभूत गराउन मानव अधिकार रक्षकको भूमिका प्रभावकारी रहने भन्दै अरुको रक्षाका निमित्त क्रियाशिल भइरहंदा आफ्नो सुरक्षाको बारेमा पनि सोच्न आवश्यक रहेको बताउनुभयो ।
यस्तै इन्सेक अनलाइन सम्पादक रमेश तिमिल्सिनाले मानव अधिकार रक्षकसम्बन्धी मस्यौदा विधेयकका बारे जानकारी गराउनुभएको थियो । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानवअधिकार रक्षकहरुले स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर मानव अधिकारका क्षेत्रमा क्रियाशिल रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रमबाट इन्दिरा पौडेलको अध्यक्षतमा १५ सदस्यीय गण्डकी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन समेत गरिएको थियो । कार्यक्रममा बोल्दै पौडेलले स्थानिय तहसम्म मानवअधिकार रक्षकहरुको विकास गर्दै मानव अधिकारको अभियान अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुशन घिमिरे