मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया सम्पन्न
कञ्चनपुर । २०७८ भदौ ९ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जिल्लास्थित सरोकारवालाहरुसँग मानव अधिकार रक्षकहरुको सुरक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम भदौ ८ गते महेन्द्रनगरमा सम्पन्न भएको छ ।इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले नेपाल सरकारले ०७७ सालमा जारी गरेको मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणसम्बन्धी आदेशका बारेमा जानकारी गराउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले सरकार मानव अधिकारको प्रत्याभूति गर्न पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनु भयो । नागरिकले पनि आफ्नो कर्तव्यको पूर्ण पालन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले मानव अधिकारका मुल्य मान्यताहरुलाई आत्मसाथ गरेर मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्न बनेको आदेश कार्यान्वयन गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनु भयो । नागरिक समाज, कञ्चनपुरका अध्यक्ष भवराज रेग्मीले प्रहरीले पीडितका मुद्दा दर्ता नगरि दिने जस्ता समस्याहरुले पीडित पक्षलाई न्याय पाउन समस्या भएको बताउनु भयो ।
महिला अधिकारकर्मी भगवती थापाले मानव अधिकारकर्मीहरुले पनि निश्पक्ष भएर काम गर्न नसक्दा चुनौतीको सामना गर्नु परेकोले अधिकारकर्मीहरुले आफ्नो कर्तव्यको पूर्ण पालन गर्न आवश्यक रहेको बताउनु भयो । मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अधिवक्ता उद्धवराज भट्टले मानव अधिकार रक्षकहरुको संरक्षणका लागि सरकार जिम्मेबार हुनु पर्नु र सामाजिक सञ्जालबाट चरित्र हत्या गर्ने कार्य भइरहेकोले यस्ता कार्यहरु रोक्न मानव अधिकार सञ्जालका सदस्यहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।
लिली कुँवर