मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
बाँके । २०७७ पुस ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम पुस ७ गते सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक लुम्बिनी प्रदेशको जिल्लाहरुका विभिन्न संस्थाहरुमा आवद्ध मानव अधिकार रक्षकहरुको सहभागिता रहेको छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले इन्सेकले मानव अधिकार रक्षकहरूको क्षमता अभिवृदि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउदै जिल्लामा मानव अधिकार सञ्जाल निर्माण गरिने बताउनु भयो । उहाँले तालिमलाई अवसरको रुपमा ग्रहण गर्न र मानव अधिकार रक्षकले गर्नुपर्ने भूमिकाबारे प्रस्ट हुन आग्रह गर्नु भयो ।
मानव अधिकारको अवधारणा , मान्यता तथा सिद्धान्तहरू र मानव अधिकार रक्षक सम्बन्धी अवस्थाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका प्रमुख झंकरबहादुर रावल, मानवअधिकार रक्षकको परिचय अधिकार दायित्व तथा चुनौति, महिला मानव अधिकार रक्षकका चुनौतिका विषयमा इन्सेक नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डे, नेपालको संविधान ०७२ र मौलिक हक साथै मानव अधिकार रक्षकका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन व्यवस्था विषयमा नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठ र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको अनुगमन तथा अभिलेखिकरण विषयमा एडभोकेसी फोरमका संयोजक बसन्त गौतमले सहजिकरण गर्नु भएको थियो ।
स्मृति देवकोटा