मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया

नवलपरासी (सुस्ता पश्चिम) । २०७८ वैशाख ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि प्रहरी प्रशासन सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रममा अधिकार संरक्षणका कुरा सँगै मानव अधिकारकर्मीहरूको बीमाको समेत व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायले मानव अधिकार संरक्षणमा राज्यले आफ्नो दायित्व पुरा गर्ने विषयमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले गृह मन्त्रालयले जारी गरेको मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणसम्बन्धी आदेश–२०७७ नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत ड्राफ्टको अक्षरस पालना गर्ने, सूचनाको सहज रुपमा उपलब्ध गराउने तथा हिरासत अनुगमन र नीरिक्षणका लागि अनुरोध समेत गर्नु भएको छ ।  कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिबाट जिल्लाको मानव अधिकार अवस्थाको जानकारी गराउनुको साथै गृह मन्त्रालयबाट जारी गरेको आदेश पत्र पढेर सुनाइएको थियो ।

नारायण पराजुली