मानव अधिकार रक्षकहरू पहिचान सहित सूचिकृत हुन पर्नेमा जोड

बर्दिया । २०७८ भदौ २८ गते

मानव अधिकार रक्षकहरू पहिचानसहित सूचिकृत हुने पर्नेमा  एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा  भदौ २५ गते गुलरियामा आयोजित मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र सङ्रक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले उक्त कुरामा जोड दिनु भएको हो ।

प्रजिअ सुनारले राज्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र सङ्रक्षण गर्न सधै तयार रहेको बताउनु बताउदै यसलाई सहज बनाउन मानव अधिकार रक्षकहरू पहिचानसहित सूचिकृत हुन पर्नेमा जोड दिनु भयो । प्रजिअ सुनारले कानुनले मात्र समाज परिर्वतन हुन नसक्ने बताउँदै हरेक व्यक्तिको आचरणमा सुधार नल्याएसम्म असुरक्षित हुनुपर्ने अवस्था रहि रहने बताउनु भयो । मानव अधिकारकर्मीले पहिचान सहित हिड्न र मानव अधिकार रक्षकहरूको बारेका सुरक्षा निकायमा पहिचान खुल्ने सूचना अद्यावधिक गराउन सके सुरक्षा र सङ्रक्षणका लागि सक्रियता जनाउन सहयोग पुग्ने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोपाल पौडेलले प्रहरीले जहिले पनि मानव अधिकार रक्षकहरूसँग समन्वय सहकार्य गर्दै बताउदै मानव अधिकार रक्षकहरूको सुरक्षा र सङ्रक्षणमा पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । अधिकारकर्मी सुशिल चौधरीले मानव अधिकार रक्षकहरूले मानव अधिकारको सवाल, अन्र्तराष्ट्रिय सन्धी अभिसन्धी, राष्ट्रिय कानुन, निति, कार्यान्वयनका विषयमा अवाजहरू उठाउदै आएको बताउनु भयो । मानव अधिकार सम्बन्धी आदेश जारी हुनु सरकार मानव अधिकार प्रति जिम्मेवार छ भन्ने कुरालाई प्रष्ट्याएको  चौधरीले बताउनु भयो ।

बरिष्ठ अधिवक्ता नरेन्द्र शर्माले मानव अधिकारकर्मीहरूको सुरक्षा र सङ्रक्षण गर्ने सम्बन्धी आदेश०७७ लाई ऐन नियमावलीको रुपमा लैजान सके अझ प्रभावकारी हुने बताउनु भयो । नेपाल पत्रकार महासंघकी उपाध्यक्ष मेनका चौधरीले पत्रकारहरूलाई सूचना पाउन कठिनाई रहेको र पीडितको पक्षका कलम चलाउदा घुमाउरो तरिकाले धम्की आउने गरेको बताउनु भयो । एकल महिला सञ्जाल बर्दियाकी अध्यक्ष मिना थापाले एकल महिलाको अधिकार सुनुवाइ नहुने गरेको र उनीहरूको पक्षमा वकालत गर्दा सहयोग नपाउने गरेको  बताउनु भयो ।  दलित महिला सङ्घकी अध्यक्ष हेमा सुनारले वकालत गरिएका पीडितपक्षका परिवार र समूदायबाटै धम्की आउने गरेको बताउनु भयो ।

मानबहादुर चौधरी