मानव अधिकार रक्षक र कोभिड –१९ ले पारेको असर विषयक मिडिया साझेदारी बैठक सम्पन्न

कास्की । २०७८ मङ्सिर २४ गते

मानव अधिकार रक्षक र कोभिड–१९ ले पारेको असर विषयक मिडिया साझेदारी बैठक कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पत्रकार महासङ्घ गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, कोक्याप, एड्भोकेसी फोरम र गैसस महासङ्घ गण्डकी प्रदेशको आयोजनामा मानव अधिकार रक्षक दिवसको सन्दर्भमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका निमित्त निर्देशक खिमलाल सुवेदीले अधिकार र कर्तव्यलाई बोध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोभिड १९ का कारण नागरिकहरुको अधिकारहरु हनन भएको बताउँदै मानवअधिकार आयोग सदैव नागरिकहरुको अधिकारको पक्षमा बोल्दै आएको भनाइ राख्नुभयो ।

गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा शान्तिको लागि नागरिक समाजका संयोजक विना सिलवालले नागरिकले आफ्नो अधिकारको मुल्याङकन आफै गर्नुपर्ने बताउदै मानवअधिकार रक्षकले आफ्नो कर्तव्यलाई बुझ्न जरुरी रहेको बताउनुभयो ।  उहाँले आफुसंग भएका गलत कुरालाई छाडेर निश्पक्ष रुपमा मानवअधिकारको पक्षमा अधिकारकर्मी लाग्नुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले अन्यय र हिंसाको विरुद्ध आवाज उठाइ राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकार स्थापित गर्न आवाज उठाइ राख्दा मानिसलाई कर्तव्य बोध हुने बताउनुभयो । मानवअधिकारको संरक्षण र प्रर्वद्धनमा पत्रकारिताको भुमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो ।

मानव अधिकार सरक्षण मञ्च कास्कीका अध्यक्ष कमलप्रसाद अर्यालले आजको दिनमा आफै रक्षक र आफै संरक्षक रहेको बताउनुभयो । उहाँले कोभिड १९ ले मानव अधिकार रक्षकहरुलाई पनि असर गरेको र उनीहरु कार्यक्षेत्र संकुचित बनेको बताउदै मानव अधिकार संरक्षण गर्न बनेका नियमलाई पालना गर्नुपर्ने बताउनुभयो । कोक्याप गण्डकी प्रदेश संयोजक सरु अधिकारीले लैङ्गिक हिंसाविरुद्ध १६ दिन मात्रै नभई ३ सय ६५ दिन नै हिंसाका विरुद्धमा मानवअधिकारकर्मी बोल्नुपर्ने बताउनुभयो । हिंसाविरुद्धको अभियानमा निरन्तर लागे हिंसा न्यूनिकरण हुने उहाँले बताउनुभयो । पत्रकार महासङ्घ कास्कीका सचिव यदुनाथ बञ्जारले अधिकार र कतव्य सगसगै जाने बताउनुभयो । उहाँले हामी अधिकारको माग गर्न पुर्व कर्तव्य पुरा गर्न आवश्यक रहेको बताउनुभयो ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले मानव अधिकार रक्षकले विचार र राजनीतिक आस्थालाई छाड्नुपर्ने बताउदै मानव अधिकारको क्षेत्रमा लागेकाहरुले सधै निश्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी अधिकृत टंक खनालले मानवअधिकार रक्षकको अवस्था र नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले कोभिड–१९ ले पत्रकारमा पारेको असर र अवस्थाबारे प्रस्तुती राख्नुभएको थियो ।

सुशन घिमिरे