मानव अधिकार र सामाजिक न्यायको अभियानमा इन्सेकसँग सहकार्य गर्ने ः नगर प्रमुख भण्डारी

सुर्खेत । २०७९ मङ्सिर २७ गते

मानव अधिकार र सामाजिक न्यायको अभियानमा इन्सेकसँग सहकार्य गर्ने पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले प्रतिबद्धता जनाउनु भएको छ । बाल अधिकार समूहका सदस्यका लागि पञ्चपुरी नपामा आयोजित बाल अधिकार शिविरको उदघाटन सत्रमा बोल्दै नगरप्रमुख भण्डारीले उक्त प्रतिबद्धता जनाउनु भएको हो । सशस्त्र द्वन्द्व र जनआन्दोलनका समयमा इन्सेक खेलेको भूमिका प्रभावकारी भएको भन्दै नगरप्रमुख भण्डारीले प्रंशसा गर्नु भयो । जनआन्दोलनका समयमा इन्सेकले राज्यले गरेको ज्यादतीका विरुद्ध खबरदारी गरेको भन्दै नगरप्रमुख भण्डारीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र जातीय विभेद विरुद्धको अभियानले समाजमा सामाजिक न्याय स्थापित हुनेमा जोडदिनु भयो । आगामी दिनमा नगरपालिकालाई आवश्यक सुझाव प्रदान गर्न समेत नगरप्रमुख भण्डारीले इन्सेकलाई अनुरोध गर्नु भएको छ । नगरप्रमुख भण्डारीले मानव अधिकार, बालअधिकार, महिला अधिकार, विभेद र वातावरण संरक्षण सम्बन्धित विषयमा समाजका हरेक व्यक्ति सचेत रहनुपर्ने बताउनु भयो । सचेतना शिविरमा अधिकारका विषयमा मात्र केन्द्रित नभएर कर्तव्य के हो ? भन्ने विषयमा छलफल चलाउनु पर्ने नगर प्रमुख भण्डारीले सुझाव दिनु भएको छ । शिविर उदघाटन सत्रमा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बाल अधिकार समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गराई अभियान संचालन गर्न सक्षम बनाउने उद्देश्यले बाल अधिकार सचेतना शिविर संचालन गरिएको बताउनु भयो ।

समुदायमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला अधिकार र जातीय विभेदका विषयमा बाल अधिकार समूहका सदस्यलाई सचेत पार्दै समस्या समाधानका लागि कार्ययोजना बनाउने संयोजक सुवेदीले जानकारी दिनु भयो । कार्यक्रममा श्री विद्याज्योती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोक बहादुर रावलले इन्सेकले मानव अधिकारका विषयमा समय समयमा सचेत गराउनु पर्ने सुझाव दिनुभयो । पञ्चपुरी मानव अधिकार समूहका सदस्य धनरुपा विकले बालबालिका भनेका भोलिका नेतृत्वमा जाने नेतृत्वकर्मी भएकाले बालबालिकामाथि हुने हिंसा न्यूनीकरणमा यस शिविरले सहयोग पु¥याउने बताउनुभयो । दुई दिनसम्म संचालन हुने शिविरमा इन्सेक अभियान, बाल अधिकारको एतिहासिक विकासक्रम, बाल अधिकार, बालजिम्मेवारी र अभिभावक र शिक्षकको दायित्व, बालबालिका सम्बन्धी ऐन २०४८, लैंगिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकार, वातावरण संरक्षण, भित्ते पत्रिका प्रकाशन, कार्ययोजना निर्माण लगायतका विषयमा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी, फोकल पर्सन दुर्गा थापा, कार्यक्रम संयोजक किरण पौडेल, प्रद्यानाध्यापक कृष्णप्रसाद सापकोटा लगायतले सहजीकरण गर्नु हुनेछ । बाल अधिकार सचेतना शिविर मङ्सिर २७ र २८ गते संचालन हुनेछ । पञ्चपुरी नगरपालिकाको श्री सूर्यप्रकाश मा. वि पलैटे र श्री विद्याज्योति मा. वि बाबियाचौरमा गठन गरिएको बाल अधिकार समूहका २६ जना बालबालिका सचेतना शिविरमा सहभागि भएका छन । शिविरको उदघाटन सत्रमा दुबै विद्यायल व्यवस्थापन समितिका अध्यक्ष र प्रद्यानाध्यापकको समेत उपस्थिति रहेको थियो ।

प्रभा कुमारी रावत