मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
जुम्ला । २०७९ पुस ५ गते
नेपाल मानव अधिकार पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरुको प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । सङ्कलित घटनाहरुको थप पुष्टि गर्ने र छुटेका घटनाहरु थप गर्ने उद्देश्यका साथ बार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले ०७८ पुस १७ गते देखि ०७९ पुस ४ गतेसम्म संकलन गरिएका २१ ओटा घटना प्रस्तुत गर्नु भएको छ । सम्मानित रुपले बाँच्न पाउने अधिकार हत्या कुटपिट ४ ओटा, बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहार ८ ओटा, स्थानीय तहको निर्वाचनमा झडप ३ ओटा, घरेलुहिंसा ५ ओटा, आवासको अधिकार १ ओटा र विपद्का घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि रावलले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताउनु भयो । उहाँले भन्नुभयो जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । ५ करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् । यस्तै १० जना मानवीय क्षति र पशुपंक्षी, कृषि योग्य जमीनपनि क्षति भएको उहाँले बताउनु भयो । विपद्का सवै क्षतिका घटनाका विषयमा गृह मन्त्रालयमा प्रतिवेदन पठाएका छौँ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर यामबहादुर बुढामगरले प्रहरी प्रशासनले मानव अधिकार संरक्षण र प्रवर्धनमा काम गर्दै आएको बतााउनु भयो । उहाँले भन्नु भयो प्रहरीलाई नागरिकको सहयोगको आवश्यक छ । हामीले आफै पनि अनुसन्धान गरेको छौँ । तर प्रहरीलाई सुचनाको पनि खाँजो छ । सूचना प्राप्त भएपछि तुरुन्त अनुसन्धान थाल्ने गरेका छौँ । पछिल्लो समय जुम्ला लागुपदार्थको प्रभावित क्षेत्र बनेको छ । यसको न्यूनिकरण गर्नका लागि प्रहरी प्रशासन लागी परेको छ । राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले राजनीतिक दल, नागरिक, सरोकारवाला निकाय नै अपराधिक घटनाका संरक्षकको भुमिका निर्वाह गरेको बताउनु भयो । उहाँले भन्नुभयो यस्ता घटनाका पक्षमा सशक्त रुपमा उभिएर पीडितलाई न्यायका पक्षमा हुनु पर्ने आवश्यकता देखिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले यहाँको सडक सञ्जाल, भौतिक संरचना अपांगमैत्री नभएको बताउनु भयो । उहाँले भन्नुभयो सडकका ढल नाला ढाँकिएका छैनन् । खुला नै छन् । दृष्टिविहिन व्यक्तिहरु सडकमा हिड्न निकै असहज भएको छ । यसमा राज्य पक्षको ध्यानाकर्षण भएको छैन । जुम्ला सडक सञ्चालनमा जोडिएको लामो समय भयो । सडकको स्तरबृद्धि हुन सकेको छैन । उहाँले भन्नु भयो सडक सञ्जालमा जोडिएको जुम्लामा खाद्यन्न नुन चामलको अभाव हुने गरेको छ । विपद्ले एकातिर खेती योग्य जमीन नासिदै गएको छ भने अर्काेतिर राज्यले समयमा अनुदानको नुन चामल उपलव्ध गराउनु सकेको छैन ।
मानदत्त रावल