मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
तनहुँ । २०७९ असार ७ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम असार ७ गते दमौलीमा सम्पन्न गरिएको छ । वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भानु शर्माले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानव अधिकार हनन्का घटनामा शुन्य सहनशीलताको नीति लिएको बताउनु भयो । मानव अधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आइरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताउनुभयो । इन्सेकले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उहाँको भनाइ थियो । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकालले मानव अधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताउनु भयो । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरूमा छलफल गर्ने आधार हुने उहाँको भनाइ छ । इन्सेकको प्रतिवेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उहाँले मानव अधिकारको विषय विश्वव्यापी र सबैका लागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताउनु भयो । उहाँले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मानव अधिकारको घटना कसैले नचाहेर हुने हुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताउनु भयो । राज्यको नीतिमा विभेद भएको हुँदा त्यो विभेद हटाउन सबैले पहल गर्नु पर्ने उहाँले बताउनु भयो । इन्सेकले शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको हुँदा इन्सेकको प्रतिवेदनप्रति आफू र आफ्नो पार्टी पुर्ण विश्वस्त रहेको उहाँको भनाइ थियो । नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य दिपक खातीले स्वास्थ्य विमाका उपभोक्ताले औषधि नपाउने र उपचार समेत राम्रोसँग नहुने विषयलाई पनि इन्सेकले आफ्नो प्रतिवेदनमा समेट्नु पर्ने बताउनु भयो । नेपाल बार एसोसियशनको मानव अधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताउनु भयो । अदालतमा विचाराधिन मुद्दाको विषयमा मानवअधिकार वर्ष पुस्तकमा राख्न नहुने उहाँको भनाइ थियो । पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानव अधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन तयार गरेर सञ्चारकर्मीलाई स्रोतको रूपमा सहयोग गरेको बताउनु भयो । अधिकारको उपभोगसँगै कर्तव्य पालनामा पनि जोड दिनु पर्ने उहाँको भनाइ थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन् २०२२ को ६ महिनाको तनहुँ जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यस अवधिमा तनहुँमा भएका ६१ ओटा मानव अधिकार हनन्का घटनाहरूको विवरण प्रस्तुत गरिएको थियो । जसमा घरेलु हिंसातर्फ ४९ ओटा, बलात्कार र बलात्कार प्रयासतर्फ चार ओटा, गिरफ्तारीको एउटा, हत्याको एउटा, स्थानीय निर्वाचनमा तीन ओटा झडपका घटनाहरू र तिनका पीडित रहेका छन् । सङ्कलित घटनामा ६६ पीडित भएका छन् ।
अनलाइन डेस्क