मानव अधिकार वर्ष पुस्तक सम्पादन भेला सम्पन्न
सुर्खेत । २०७८ पुस २० गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि कर्णाली प्रदेशमा सङ्कलन गरिएका मानव अधिकार तथा ज्यादतीका घटनाहरूको सम्पादन भेला पुस १९ गते सुर्खेतमा सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा प्रदेशका दशओटै जिल्लाका प्रतिनिधिहरूले अभिलेखिकरण गरेका घटनाहरूको विवरणसहित सम्पादनका लागि पुस १८ र १९ गते वार्षिक सम्पादन भेला आयोजना गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनुभयो ।
मानव अधिकार वर्ष पुस्तकका सम्पादक गोविन्द त्रिपाठी र इन्सेक अनलाइन सम्पादक रमेश प्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले अभिलेख गरेका घटनामा छुटेका तथ्याङ्क र पुष्टि गर्नुपर्ने घटनाको आवश्यक विवरणका लागि सल्लाह, सुझाव दिनुभयो थियो । उहाँहरूले वर्ष पुस्तक प्रकाशनले नीति संशोधन गर्न र न्याय नपाएकाहरूलाई न्याय प्राप्तिको सारथी बन्ने भन्दै सत्य तथ्य घटना सङ्कलन गर्न आग्रह गर्नुभयो ।
भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले जिल्लामा विगतको तुलनामा अपराधका घटनामा कमी आएको भन्दै मानव अधिकार अवस्थाका बारेमा जानकारी गराएका थिए । कर्णाली प्रदेशमा सन् २०२१ मा चार सय ५० बढी घटना अभिलेख गरिएको जिल्ला प्रतिनिधिहरूको भनाइ छ ।
पूर्णबहादुर खड्का