मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

बारा । २०७८ पुस ६ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते बारामा सम्पन्न गरिएको छ । बारामा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेलले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा ७५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू उल्लेख छ । जसमध्ये बलात्कार २३, बलात्कार प्रयासका आठ, हत्याका सात, ज्यान मार्ने उद्योगका ६, कुटपिटका चार, बहुविवाहका चार, यौन दुर्व्यवहारका तीन लगायत छन् । कार्यक्रममा बारा जिल्ला अदालतका श्रेस्तेदार नवराज जोशीले जिल्लाका सबै घटनाको हाल सम्मको अवस्था वर्ष पुस्तकमा राख्नका लागि अनुरोध गर्नु भयो । उहाँले अरुको अधिकार हनन् नहुने गरी आफ्नो अधिकार प्रयोग गर्ने चेतनामूलक कार्यमा इन्सेकले पहल गर्न आवश्यक रहेको बताउनु भयो ।

स्रेस्तेदार जोशीले कानुनहरूको कार्यान्वयन गर्न नागरिकको सहयोग र सरकारले अझ बढि सक्रियता देखाउन आवश्यक रहेको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले मानव अधिकार रक्षका लागि नेपाल प्रहरी अहोरात्र लागि परिरहेको बताउनु भयो । उहाँले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्न विभिन्न प्रविधि र जनशक्तिको प्रयोग गरेको बताउनु भयो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जुद्धबहादुर आलेले दलित, जनजाति र मुस्लिम समुदायका नागरिकको अधिकारको रक्षा गर्न इन्सेकको ध्यानाकर्षण गर्नु भयो । उहाँले न्यायिक समितिहरूले कानुनले कल्पना गरेजसरी काम नगरेको विषय वर्ष पुस्तकमा समावेश गर्न आग्रह गर्नुभयो ।

सामाजिक अभियान्ता निरमा चौधरीले जिल्लामा केहि घटना छुटेकाले वर्ष पुस्तका थप गर्न र घटना रोक्नका लागि पहल गर्न आग्रह गर्नुभयो । अभियन्ता सुनिता बस्नेतले बालबालिका र महिला माथि हिंसाका घटना बृद्धि भएकाले सिङ्गो समाजको ध्यानाकर्षण गर्न आवश्यक रहेको बताउनु भयो । बारा जिल्ला बार एसोसिएशनका अध्यक्ष सन्तोषकुमार गुप्ताले अदालतमा प्रवेश नगरेका घटना पनि वर्ष पुस्तका राख्न सुझाव दिनु भयो ।

अनलाइन डेस्क