मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
बझाङ । २०७८ पुस ८ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वर २० गतेसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । पूर्व समीक्षा कार्यक्रममा बहुविवाह, यौनजन्य हिंसा, बलात्कार, बलात्कारको प्रयास र घरेलु हिंसा गरी १ सय ३ ओटा घटनाहरु प्रस्तुत गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरी सरोकारवाला निकायको ध्यानाकर्षण गराउने कार्य सराहनीय रहेको भन्दै जिल्लाका सबै स्थानीय तहसम्म पुगेर मानव अधिकार उल्लङ्घनसँग सम्बन्धीत खाद्य असुरक्षाका सवाललाई पनि वर्ष पुस्तकमा समेट्न सुझाव दिनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले जिल्लामा बालविवाह र छाउपडी प्रथाका घटनाहरु पनि हुने गरेकोले यस प्रकृतिका घटनाहरुलाई पनि वर्ष पुस्तकमा समेट्न आवश्यक रहेको बताउनु भयो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्तोषराज कटुवालले दलित, बादी समुदायका नागरिकको अधिकारको रक्षा गर्न तथा उहाँहरुको शिक्षा, स्वास्थ्यको अधिकारका सवालहरुलाई पनि वर्ष पुस्तकमा समेटन सुझाव दिनु भयो । जिल्ला कारागारका प्रमुख धनबहादुर घर्तिल जिल्ला कारागारको अवस्थाका सन्दर्भमा हरेक वर्ष इन्सेकले वर्ष पुस्तकमा समेट्ने गरेको भएपनि कारागार सुधारका लागि सरोकारवालाहरुले ध्यान दिन नसकेको बताउनु भयो । उहाँले यस वर्ष पनि कारागारमा देखिएका समस्याहरुलाई वर्ष पुस्तकमा प्राथमिकताका साथ उठान गर्न आग्रह गर्नु भयो । पत्रकार रिदम सिंहले यो वर्ष इन्सेक प्रतिनिधिले प्रस्तुत गरेका घटनाहरुमा सबै भन्दा बढी घरेलु हिंसाका घटनाहरु रहेकाले महिला अधिकारको संरक्षणमा सरोकारवालाहरु गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो ।
सत्यराज सिंह