मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

हुम्ला । २०७९ पुस १ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका ३२ ओटा घटना प्रस्तुत गर्नु भएको छ । सम्मानित रूपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित १९ ओटा, स्वास्थ्य तथा शिक्षाको अधिकारको एउटा, बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका नौ ओटा, हत्याको एउटा, वेपत्ताको एउटा र घरेलु हिंसाको एउटा घटना प्रस्तुत गरिएको जिल्ला प्रतिनिधि सिंहले बताउनु भयो । नेपाली कांग्रेका जिल्ला उपसभापति बसन्त रोकायाले विशेष गरेर मानव अधिकार उलंघनका घटनाहरू घट्नुमा मुख्यत अशिक्षाका कारणले घट्ने गरेको बताउनु भएको छ । उहाँले इन्सेकले सङ्कलन गरेका घटना भन्दा गाउँमा धेरे लुकेर रहेका घटनाहरूलाई पनि सङ्कलन गर्नु पर्ने सुझाव दिनु भएको छ । रोकायाका अनुसार इन्सेकले वर्ष भरि सङ्कलन गरेका घटनाले सरोकावाला पक्ष लगायत सम्पुर्ण व्यक्ति यस्ता खाले घटना गर्न नहुने तर्फ सजक्ता अपनाउने र आगामी दिनहरूमा उलङ्घनका घटनामा सुदृढीकरण तथा न्यूनिकरण हुने भनाई राख्नु भएको हो । त्यस्तै विगत लामो समयदेखि इन्सेकले मानव अधिकार वर्ष पुस्तक प्रकासित गर्दै आएको यो एउटा अत्यान्तै सकारात्मक कुरा भएको सरकारी वकिल पुर्णबहादुर केसीले बताउनु भएको छ । उहाँले आगामी दिनहरमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका घटनाहरुलाई पनि समावेश गरिएमा अझ थप इन्सेकको प्रतिवेदन तथ्यमा आधारित हुने सुझाव दिनु भएको छ । 

     

कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला अदालतका उप सचिव (श्रेष्तेदार) कमल कुमार आचार्यले भौगोलिक विकटेताका बावाजुत पनि इन्सेकले मानव अधिकारसंग सम्वन्धित घटनाहरू सङ्कलन गर्नुमा राम्रो कार्य भएको बताउनु भएको छ । उहाँले इन्सेकले वर्षभरि सङ्कलन गरेको प्रतिवेदनमा केही छुटेका घटना भए थप गरिनु पर्ने सुझाव राख्नु भएको छ । प्रत्येक व्यक्तिले सरकार पक्षबाट सहजै पाउनु पर्ने सुचना समेत सहज नभएका कुरा पनि प्रतिवेदनमा समेटिनु पर्ने श्रेष्तेदार आचार्यको भनाई छ । कार्यक्रमका अध्यक्ष एवम् बार एसोसियनका सचिव तथा बैधानिक वकिल राजन चन्दले इन्सेक प्रतिनिधिले प्रतिवेदनमा सम्पुर्ण कुरा समेटेकोमा धन्याबाद दिनु भएको छ । उहाँले कार्यक्रममा बोल्दै विशेष गरी मानव अधिकार उलंघन गर्नेमा सरकार पक्ष नै हुन्छ । प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट प्राप्त हुनु पर्ने कार्यक्रमका अध्यक्ष चन्दले बताउनु भएको छ ।कार्यक्रममा उपस्थित भएका सम्पुर्ण बक्ताहरूले हरेक क्षेत्रबाट अन्यायमा परेका पीडित पक्षले जिल्लामा रहेका मानव अधिकार सङ्घसंस्थाहरूसंग सहयोग लिएर न्याय माग्नु पर्ने भनाई राखेका थिए । जिल्लामा खाद्यान्नको अभाव, निर्वाचनमा सहज रुपमा मतदान गर्न नपाएको, बाढी पहिरोबाट समस्या, विद्यालयमा पठनपाठनको अवस्था र प्रत्येक नागरिकले सहजै रुपमा उपचार नपाएका विषयलाई पनि इन्सेकले अभिलेखीकरण गर्नुपर्ने उपस्थित व्यक्तिहरूले बताएका थिए ।

नन्द सिंह