मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न

बझाङ । २०७७ पुस १ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बझाङको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते जिल्ला दरमुकाम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपालको संविधानले नै नागरिकका महत्वपूर्ण मौलिक हकको व्यवस्था गरेको बताउँदै यसको कार्यान्वयनका लागि समाजका सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । ृउहाँले भन्नु भयो– ‘नागरिकले आफ्नो अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि ध्यान दिन आवश्यक छ । नागरिकले पनि आफ्नो कर्तव्य पालन गरेको खण्डमा समाजमा हुने धेरै अपराधका घटनाहरुमा कमी आउछ । जघन्य प्रकारका अपराधका घटनाहरु मिलापत्र गर्नु हुदैन । यसमा सङ्लग्न व्यक्तिलाई कारवार्ही हुन्छ ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खडकाले इन्सेकले वर्षभरी भएका घटनाहरुको सङ्कलन गरी सार्वजनिक गर्ने कार्यले सरोकारवाला पक्षलाई पनि सचेत गर्दै आएको बताउँदै समाजमा मानव अधिकारको संरक्षण र शान्ति सुरक्षा कायम गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो– ‘कहिले काही बिभिन्न घटनामा प्रहरीलाई जोडने कार्य पनि भएको छ ।  तर, प्रहरीले पीडित पक्षले न्याय पाउन भन्ने उद्देश्यले घटनाको अनुसन्धान गर्ने र सोही अनुसार आफ्ना काम गरि रहेको छ । मानव अधिकारको संरक्षण गर्न हामी सबै सयुक्त रुपमा लाग्न आवश्यक छ ।’

फियान नेपाल, बझाङका प्रतिनिधि सिता सिंह र महिला सेभ हाउसका प्रतिनिधि गिता शाहीले जिल्लामा रहेका हलियाहरु लामो समयदेखि सुचिकृत नभएका र कतिपय हलियाहरुसँग लालपुर्जा समेत नभएकोले यस्ता विषयहरु पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने र यसको समाधानका लागि सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीले सन् २०२० जनवरीदेखि डिसेम्बर १४ सम्म सङ्कलन गर्नु भएका ४० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु जिल्लास्थित सरोकारवाल पक्षहरुकाबीचमा पुष्टि तथा पुनःपुष्टिका लागि प्रस्तुत गर्नु भएको थियो ।

रमेश केसी