मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

सल्यान । २०७९ पुस २२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सन २०२२ जनावरी  देखि डिसेम्बर सम्ममा सङ्कलन गरिएका ६० ओटा घटना प्रस्तुत गर्नु भएको छ । सल्यानमा एक बर्षको अवधिमा मानव अधिकार हन्नका ६० वटा घटना भएको उहाँले बताउनु भयो । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि बढी ज्यादतीका घटना हुने गरेको पाइएको छ । इन्सेकका अनुसार जिल्लामा महिला अधिकारका ३९ ओटा, बालअधिकारका  १६ ओटा, बाँच्न पाउने अधिकारका तीन ओटा र नागरिक तथा सामाजिक अधिकारका दुई ओटा घटना भएका छन् । जिल्लाभर महिला अधिकार तर्फ घरेलु हिंसाका १७ ओटा, कुटपिटका दुई ओटा, बलाल्कारका सात ओटा, बलात्कार प्रयासका दुई ओटा, बहुविवाहका १० ओटा र बोक्सी आरोपका एक ओटा घटना भएका छन् । यस्तै बाल अधिकार तर्फ बलात्कारका १२ ओटा, बाँच्न पाउने अधिकार तर्फ हत्या, एसिड प्रहार र जेष्ठ नागरिक घर निकालाका एक/एक ओटा र नागरिक तथा सामाजिक अधिकार तर्फ कुटपिटका २ वटा घटना भएका छन् । इन्सेक प्रतिनिधि बुढाथोकीले जिल्लामा विभिन्न क्षेत्रले सक्रियताका साथ कामगर्दै आएको भएपनि मानव अधिकार हनन् र ज्यादतीका घटनामा कमी आउन नसकेको बताउनु भयो । अझैपनि गाउँमा हुने केही घटना बाहिर आउन नसकेकाले सरोकारवाला सबै निकायले सक्रियताका साथ हातेमालो गरेर अघिबढ्नुपर्ने र पीडितलाई न्याय तथा पिडकलाई कानुनी दायरामा ल्याउन सबैको भूमिका महत्वपुर्ण भएको उहाँको भनाइ छ ।

     

वार्षिक घटना समीक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानव अधिकार उलङ्घनका घटनामा कमी ल्याउनको लागि सबै क्षेत्रको प्रयास आवश्यक रहेको बताउनु भयो । मानव अधिकार हनन् कसरी रोक्ने भन्ने चुनौतीको बिषय भएको भन्दै उहाँले टोलबस्तीमा पुगेर सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना धेरै हुनुले महिला अझै पनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले मानव अधिकार हनन्का घटनामा कमी ल्याउनको लागि नगरपालिकाले सचेतीकरणको अभियान सञ्चालन गर्ने बताउनु भयो । उहाँले बिभिन्न घटनाका पिडितहरुलाई नगरपालिकाले सञ्चालन गर्ने सिपमुलक तथा आय आर्जनका कार्यक्रम सञ्चालन गर्दा प्राथामिकता दिने बताउनु भयो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरूबाट उजुरी नआउने भएकाले सबै बर्ग, समुदायमा आयआर्जनका क्रियाकलाप सञ्चालन गरिने बताउनु भयो । कार्यक्रममा सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसी, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर ववाल, जिल्ला अस्पताल सल्यानका इन्डोर इन्चार्ज सुलोचना महर्जन लगाएत सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रममको सहजीकरण मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बुद्धि पुनले गर्नुभएको थियो ।

मिना बुढाथोकी