मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धिवार्षिक समीक्षा सम्पन्न

बैतडी । २०८० असार ११ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बैतडीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८० असार ११ गते जिल्ला सदरमुकाम गोठालापानीमा सम्पन्न भएको छ । इन्सेक बैतडी प्रतिनिधि नरी बडुले सन् २०२३ जनवरीदेखि जुनसम्मको अवधिमा जिल्लामा ३४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । इन्सेक बैतडी प्रतिनिधिका अनुसार जिल्लामा ६ महिनाको अवधिमा बलात्कारबाट पाँच बालिका र पाँच जना महिला पीडित भएका छन् भने बालविवाहबाट एक र बहुविवाहबाट एक जना पीडित भएका छन् । दुई जनाको हत्या भएको छ भने जातीय विभेदबाट एक जना र कुटपिट घटनाबाट दुई जना पीडित भएका छन् ।

   

जिल्ला अदालत, बैतडीका न्यायाधीश जयानन्द पनेरुले इन्सेकले न्यायिक समितिको काम कार्वाहीका बारेमा पनि सुक्ष्म रुपमा अध्ययन तथा मुल्याङ्कन गरी वर्ष पुस्तकमा सार्वजनिक गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले भन्नु भयो– ‘इन्सेकले मानव अधिकारको क्षेत्रमा वकालत तथा पैरवी गर्दै आएको छ । जसका कारण मानव अधिकारको अवस्थामा समेत सुधार ल्याउन मदत पुगेको छ । आगामि दिनमा इन्सेकले न्यायिक समिति आएका घटनाहरुको पनि विश्लेषण गर्नु जरुरी छ ।’ प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले वर्ष पुस्तकमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयबस्तुले प्राथमिकता पाउनु पर्ने बताउनु भयो ।कार्यक्रममा जिल्ला न्यायाधीश जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रमुख न्यायाधिवक्त, सशस्त्र प्रहरीका डिएसपी, कानुन व्यवसायी, अधिकारकर्मी लगायत पत्रकारहरुको उपस्थिति रहको थियो ।

नरी बडु